फाईल तस्बिर
बुटवल । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्रि शंकर पोखरेल बिरुद्ध अपहरणको मुद्दामा जाहेरी परेको छ ।
सांसद विमला खत्री वलीले पोखरेल बिरुद्द अपहरण तथा शरीर बन्धक कसूरमा सोमबार जाहेरी दिनुभएकी हुन् ।
सांसद वलीले निवर्तमान मुख्यमन्त्रि पोखरेल सहित एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, युवा संघका सचिवालय सदस्य तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावलले आफूलाई अपहरण गरेर बन्धक बनाएको भन्दै प्रहरीमा जाहेरी दिएको प्रहरीले जनाएको छ ।
अपहरणको जाहेरी दिन सांसद वली सहित नेकपा माओबादी केन्द्रका प्रमुख सचेतक तुलाराम धर्ती इलाका प्रहरी कार्यालय बुटवल पुगेका थिए ।
कार्यालयमा परेको उजुरी आज दाङ पठाइएको प्रमुख डीएसपी मदन कुँवरले जानकारी दिए । मुलुकी अपराध संहिता २०७४ अनुसार अपहरण तथा शरीर बन्धकमा पीडितले ६ महिनासम्म जाहेरी दिन पाउने कानुनी व्यवस्था छ ।
वलीले दिएको उजुरीअनुसार अदालतले कसुर ठहर गरेमा पोखरेलसहित ४ जनालाई ७ वर्षदेखि १० वर्षसम्म कैद र ७० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्नेछ ।




















