साँकेतिक तस्बिर
काठमाण्डौं । आजदेखि कक्षा १२ को परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यसअघि २ पटकसम्म स्थगित गरिएको परीक्षा आजबाट सुरु भएको हो ।
असोज ८ गतेसम्म सञ्चालन हुने परीक्षामा ३ लाख ७४ हजार ४१३ परीक्षार्थी सहभागी हुने अनुमान गरिएको छ ।
यसअघि साउन ३१ गतेबाट तय भएको परीक्षा अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।
परीक्षामा सहभागी हुने सबै विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने व्यवस्था गरिएको थियो ।
परीक्षाका लागि देशैभरमा ४ हजार ३१५ विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । यसपटक पनि परीक्षार्थीहरुले होम सेन्टर मार्फत परिक्षा दिने भएका छन् ।
बोर्डले इमेलमार्फत नै प्रश्नपत्र पठाएको छ । इन्टरनेट नपुगेका ११३ केन्द्रमा यसअघि नै प्रश्नपत्र पठाइएको र अरूमा परीक्षा हुनुभन्दा आधा घण्टा अगाडि इमेलमार्फत प्रश्नपत्र पठार्इको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले जानकारी दिए ।




















