पोखरा । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)गण्डकी प्रदेशको आयोजनामा आज पोखरा क्षेत्रका पर्यटकीय स्थल खोल्ने सम्बन्धमा सामूहिक छलफल सम्पन्न भएको छ ।
कार्यक्रममा वक्ताहरूले विश्व पर्यटन बजार खुलिसकेका अवस्थामा पोखराका पर्यटकीय स्थल पनि स्वास्थ्य मापदण्ड पालना गर्दै खुलाउनुको विकल्प नभएको धारणा राखेका छन् ।
कार्यक्रममा नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले कोरोना प्रभावित पर्यटनलाई विस्तारै अघि बढाउनु अहिलेको आवश्यकता भएको बताउँदै पोखराका पर्यटकीय गन्तव्य खुल्ला गर्ने सम्बन्धमा छलफल कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।
नेपाल पर्यटन बोर्ड र युनडिपीको सहकार्यमा नाट्टाका तर्फबाट पोखराका पर्यटकीय गन्तव्यलाई सरसफाई गर्ने कार्यलाई अघि बढाउने बताउँदै उनले त्यसका लागि कोरोना प्रभावित पर्यटन क्षेत्रका मजदुरलाई १५ दिनको रोजगारी दिने गरी कार्ययोजना अघि सारिएको जानकारी दिए ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराई, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रबन्धक नविन पोखरेल, बरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, तालबाराही गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मत बहादुर कुँवर, टान पश्चिमाञ्चलका अध्यक्ष सुशिलराज पौडेल, हान पोखराका अध्यक्ष विकल तुलाचन, रेवान पोखराका लक्ष्मण बराल, पर्यटन यातायात व्यवस्थापन समिति गण्डकीका बोबरजंग गुरुङ, नाट्टा गण्डकीका पूर्व अध्यक्षद्वय वासु त्रिपाठी र केदारनाथ शर्मा, सल्लाहकार मदन केसी, नाट्टा गण्डकीका पूर्व अध्यक्ष सन्तोष पोखरेल, वडा अध्यक्ष जगत पहारी लगायतले कोरोना प्रभावित पर्यटनलाई चलायमान बनाउने गरी लाग्नुपर्ने आवश्यकता औंल्याए ।




















