काठमाण्डौं । कुवेतको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा बालुवा र ग्राभेलको थुप्रोमुनि पुरिएर २ जना नेपाली श्रमिकको ज्यान गुमाएका छन् ।
बुधबार साँझ ६ बजे कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल(२ को निर्माण स्थलमा व्यस्त कामदारहरूमाथि बालुवा र ग्राभेलको थुप्रो खस्दा पुरिएर उनीहरुले ज्यान गुमाएका हुन् । अर्का एक नेपालीको भने उद्धार गरिएको छ ।
कुवेती फायर फोर्सका अनुसार लगातार ४ घण्टाको उद्धारपछि ६ मिटर गहिरो खाल्डोमा परी पुरीएका मध्ये २ जनाको शव र एक जनालाई सकुशल उद्धार गरिएको जनाएको छ ।
घाइते तथा ज्यान गुमाउनहरुको परिचय भने खुलाइएको छैन ।
घटनालगत्तै त्यहाँका सार्वजनिक निर्माण मन्त्री र सूचना तथा संचार राज्यमन्त्री राना अल फारिस घटनास्थल पुगेका थिए ।
गत वर्ष पनि कुवेतको अल मुत्ला क्षेत्रमा निर्माणस्थलमा बालुवाको ढिस्को खस्दा ४ जना नेपाली कामदारले ज्यान गुमाउनु परेको थियो ।




















