काठमाण्डौं । मेम्फिस डिपाएको निर्णायक गोलमा बार्सिलोनाले स्पेनिस ला लिगामा गेटाफेलाई पराजित गरेको छ ।
आइतबार राति घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्साले गेटाफेलाई २–१ को गोल अन्तरले पराजित गरेको हो । खेलमा सबै गोल पहिलो हाफमा भएको थियो।
खेल सुरु भएको ९९ सेकेण्डमा सर्जी रोबटोले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले जोर्डी अल्बाको क्रसलाई गोलमा परिणत गरेका थिए ।
पहिलो हाफको १८ औँ मिनेटमा नै पाहुना टोलीले गोल फर्काउँदै खेललाई बराबरीमा ल्यायो । बार्सिलोनाका पूर्व खेलाडी कार्लेस अलेनाको पासमा सान्ड्रो रामिरेजले बराबरी गोल फर्काएका थिए ।
खेलको ३० औं मिनेटमा मेम्फिस डिपाएले गोल गर्दै पुनः बार्सिलोनाको अग्रदा दोब्बर पारे । उनले फ्रेङकी डि जोङको पासमा गोल गरेका थिए ।
ला लिगामा सन् २००९ पछि असिस्टकर्ता र गोलकर्ता दुवै डच खेलाडी भएको पहिलो पटक हो । जितसँगै बार्सिलोनाले ३ खेलबाट ७ अंक जोडेको छ ।




















