तनहुँ । तनहुँमा बाघको छाला, खप्पर हड्डी लगायतका अंग सहित ३ जना पक्राउ परेका छन् । ब्यास नगरपालिका ५ पतेनीस्थित पक्की पुल नजिक बाख्रेतर्फ जाने कच्ची सडकबाट बाघको अवैध छाला, खप्पर, हड्डी लगायतका अंग सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सोही नगरपालिका ६ सिरुबारी बस्ने ३९ वर्षीय अर्जुन श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका १ ओखल्दी बस्ने ४० वर्षीय सन्जित गुरुङ र सोही नगरपालिका १ रतनपुर बस्ने ३२ वर्षीय सन्तोष गुरुङ रहेका छन् ।
उनीहरुमध्ये अर्जुनको साथबाट २ थान बाघको छाला, बा. ४९ प ५९२३ नम्बरको स्कुटर, १ थान मोबाइल र नगद १ हजार रुपैयाँ, सन्जितको साथबाट १२२ वटा बाघको हड्डीहरु, ग. १८ प ५४११ नम्बरको मोटरसाइकल, १ थान मोबाइल र नगद २ हजार रुपैयाँ र सन्तोषको साथबाट बा. ३५ प ५४५१ नम्बरको मोटरसाइकल, नगद ३ हजार ५८५ रुपैयाँ, १ थान लाइटर र १ थान मोबाइल प्रहरीले बरामद गरेको छ ।
सडकमा शंकास्पद गतिविधि गरिरहेका उनीहरुलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्ज र जिल्ला प्रहरी कार्यालय तनहुँ दर्मौलीबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा उक्त अंगहरु सहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँ दमौलीले जानकारी दिएको छ ।
पक्राउ परेका सबैलाई जिल्ला बन कार्यालय तनहुँ दमौलीमा बुझाईएको कार्यालयले जनाएको छ ।




















