काठमाण्डौं । जर्मन बुन्डेस लिगा अन्तर्गत शनिवार राति भएको खेलमा साविक विजेता बायर्न म्युनिखले हर्था बर्लिनलाई ५(० गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।
बायर्नको घरेलु मैदान एलीयान्ज एरेनामा २५ हजार दर्शकबीच भएको खेलमा घरेलु टोलीले सुरुवाती १० मिनेट भित्रै अग्रता लिएको थियो । बायर्नका स्टार खेलाडी थोमस मुलरले पहिलो हाफको ६औं मिनेटमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफको ३५औं मिनेटमा बायार्नले अग्रता दोब्बर बनायो । बायर्नका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाएका थिए । पहिलो हाफमा २ गोलले अघि रहेको बायर्नले दोस्रो हाफमा अर्को १ गोल थप्न सफल भयो ।
खेलको ४९औं मिनेटमा बायर्नका युवा खेलाडी जमाल मुसियालाले गोल गरेका थिए । त्यसपछि खेलको ७०औं तथा ८४औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा तेस्रो गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गर्न सफल भए ।
उनले ह्याट्रिक पूरा गरेसँगै बायर्न म्युनिखको लागि ३०० गोलको किर्तिमान पनि रचेका छन् । यस जितसँगै बायर्नको ३ खेलमा ७ अंक रहेको छ ।




















