फाईल तस्बिर
काठमाण्डौ । पार्टी विभाजन प्रक्रियामा सहभागी नभएका एमालेका नेताहरु छलफलका लागि पार्टी अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेका छन् ।
नेकपा एमाले विभाजनमा संलग्न नरहेका माधव नेपाल समूहका एकता पक्षधर नेताहरु र अध्यक्ष ओलीविच वालकोटमा छलफल भैरहेको एक नेताले बताएका छन् ।
आइतबार ओली निकट शंकर पोखरेल लगायतका नेतासँग परामर्श गरेपछि उनीहरु थप कुराकानीका लागि बालकोटमा भेला भएका हुन । बालकोटामा १० बुँदे कार्यान्वयन गरेर पार्टी एकतालाई जोगाउन उनीहरुले ओलीलाई आग्रह गरेको बताइएको छ ।
छलफलमा भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे लगायतका नेता सहभागी छन ।
माधव नेपालले एमाले विभाजन गरेर नयाँ दल दर्ताका लागि निवेदन दिएपछि केही नेता त्यसवाट अलग भएर एकता प्रक्रिया जोगाउने प्रयासमा छन । एमाले केन्द्रीय कमिटी बैठकले १० बुँदे सहमति अनुमोदन गरेपनि कार्यान्वयन भएको छैन ।
१० बुँदे कार्यान्वयन नगरे ओलीलाई साथ दिन नसक्ने पार्टी विभाजन प्रक्रियामा सहभागी नभएका एमाले नेताहरुको भनाइ छ । उनीहरुले १० बुँदे कार्यान्वयनका लागि ओलीलाई सोमबार बेलुकासम्मको समय दिएका छन् ।




















