काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छिन् ।
मन्त्री परिषदले निर्णय गरेको अध्यादेश लिएर मंगलबार नै प्रधानमन्त्री देउवा राजनीतिक दलसम्बन्धी अध्यादेश लिएर राष्ट्रपती कार्यालय पुगेको भएता पनि बुधबार मात्र अध्यादेश जारी भएको हो ।
नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत मत पुरयाएमा पार्टी विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।
अध्यादेश जारी गरे लगत्तै राजपत्रमा प्रकाशित भएपछि त्यसले कानुनको रुप लिने छ । यसअघि ४० प्रतिशत सांसद र केन्द्रीय सदस्य पुगेको अवस्थामा दल विभाजन गर्न पाउने प्रावधान थियो । उक्त प्रावधानलाई खुकुलो पार्दै नयाँ अध्यादेशले अब दलहरूलाई विभाजनका लागि सहज बनाएको हो ।
यो अध्यादेश जारी भएसँगै अब एमाले र जनता समाजवादी पार्टी विभाजनकोलागि बाटो खुलेको छ । पार्टी विभाजनका लागि एमालेको माधव नेपाल समूह र जसपाको महन्थ ठाकुर समूह तयारी अवस्थामा छन् ।




















