काठमाण्डौँ । अफगानिस्तानमा रहेका मध्ये ४३७ जना नेपालीलाई ब्रिटिस सेनाले उद्धार गरी बेलायत लगेको छ ।
बेलायती कम्पनी हार्ट ल्यान्ड, हार्ट इन्टिग्रेटेड सोलुसन, गार्डा दी वल्र्डवाइड र जिफोरएस कम्पनीमा कार्यरत सुरक्षा गार्ड र कर्मचारीलाई सैन्य विमानमा दुबई हुँदै बेलायत पुर्याइएको हो ।
बेलायत पुरयाईएका सबै नेपालीलाई होटलमा राखिएको छ । उनीहरु केही दिनमा नै नियमित उडानमार्फत काठमाण्डौं आईपुग्ने छन् ।
ब्रिटिस सेनाले बेलायती, जर्मन, जापानी, क्यानडाली कम्पनी तथा अन्तर्राष्ट्रिय दातृ निकायमा कार्यरत नेपालीको उद्धार गरेको हो ।
काबुल विमानस्थलनजिकैको होटलमा बसेका उनीहरुलाई होटल छोड्न आदेश दिएको र तालिबानकै सहयोगमा विमानस्थलसम्म आउन सफल भएका थिए ।
यसअघि अमेरिकी दूतावासमा परिसरमा कार्यरत ३८५ नेपालीलाई उद्धार गरी दोहा र कुवेत लगिएको थियो । तीमध्ये ११८ जना नेपाल आइसकेका छन् ।
काबुलस्थित संयुक्त राष्ट्रसंघको कार्यालय र अन्य कूटनीतिक क्षेत्रमा खटिएका नेपाली सुरक्षा गार्डको अवस्था अझै सार्वजनिक हुनसकेको छैन ।




















