काठमाण्डौं । दल विभाजन गर्न सजिलो हुनेगरी तयार राजनीतिक दलसम्बन्धी अध्यादेश सरकारले आजै जारी गर्ने सम्भावना रहेको छ ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित सत्ता गठबन्धनले अध्यादेशको मस्यौदा तयार पारिसकेका छन् ।
तयार मस्यौदामा कुनै पनि दल विभिजन गरेर नयाँ दल खोल्न केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा एकचौथाइ अर्थात् २५ प्रतिशत सदस्य भए पुग्ने व्यवस्था गरिएको छ ।
तयारी मस्यौदा जारी गर्ने बिषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बिहानैदेखि विभिन्न पार्टीका नेताहरूसँग छलफल तीव्र पारेको बुझिन आएको छ ।
यसैकालागि भन्दै आज अपराह्न मन्त्रिपरिषद्को बैठक समेत ढाकिएको छ ।
आइतबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, माओवादी र एमालेका नेपालसहितको शीर्ष नेताहरूको बैठकले यो मस्यौदा तयार पारेको हो ।
आइतबार नै एमाले नेता नेपालले सरकारमा सहभागी हुन सहमति जनाएका छन् ।




















