काठमाण्डौं । इङ्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्यामले विजयी सुरुवात गरेको छ । आइतबार राती भएको खेलमा न्युकासल युनाईटेडलाई ४–२ गोल अन्तरले पराजित गर्दै वेस्ट ह्यामले सुखद सुरुवात गरेको हो ।
वेस्ट ह्यामले २ पटकको अग्रता उल्टाएर जीत निकालेको हो । खेलको पाँचौं मिनेटमा कलुम विल्सनले गोल गर्दै न्युकासललाई सुरुवाती अग्रता दिलाएका थिए ।
१८ औं मिनेटमा आरोन क्रेसवेलले गोल गर्दै वेस्ट ह्यामलाई १–१ गोलको बराबरीमा फर्काए । खेलको ४० औं मिनेटमा जाकोब मुर्फीले गोल गर्दै न्युकासललाई २–१ को अग्रता दिलाए ।
खेलको ५३ औं मिनेटमा सैद बेन्रह्माले गोल गर्दै वेस्ट ह्यामलाई २–२ को बराबरीमा ल्याए ।
६३ औं मिनेटमा वेस्ट ह्यामका एन्टोनियोले पेनाल्टीमा गोल गर्न सकेनन् तर, न्युकासलका गोलकिपर वुडम्यानले रोकेपछि आएको रिबाउन्ड बलमा थोमस सुसेकले गोल गर्दै वेस्ट ह्यामलाई ३–२ को अग्रता दिलाए ।
त्यसपछि खेलको ६६ औं मिनेटमा एन्टोनियोले गोल गर्दै वेस्ट ह्यामलाई ४–२ को जित दिलाए । वेस्ट ह्यामले पहिलो खेलमा ३ अंक जोडेको छ ।




















