पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ‘अन्तर्राष्ट्रिय युवा दिवस’का अवसरमा शुभकामना दिंदै प्रदेशको कोभिड संक्रमणविरुद्धको लडाईंमा युवाको साथको अपेक्षा गरेका छन् ।
‘‘खाद्यप्रणालीमा रुपान्तरणः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ नाराका साथ आज विश्वभर युवा दिवश मनाइदै छ । सोही अवशरमा मुख्यमन्त्री पोखरेलले एक सन्देश जारी गर्दै ‘प्रदेशलाई आफ्नै बजेट समेतको सहयोगमा सघन खोप कार्यक्रममार्फत कोभिडको जोखिमबाट पहिले मुक्त गर्ने अनि क्रमैसँग समृद्ध र समुन्नत बनाउने मार्गमा युवा जगतबाट रचनात्मक सहयोगको अपेक्षा राखेको छु’ उनले भनेका छन् ।
आजको दिनले सबै युवालाई युवाका पक्षमा आवाज बुलन्द पार्ने र मुलुक अनि प्रदेशका लागि केही गर्ने आत्मविश्वास र क्रियाशीलताको शक्ति दिने विश्वास लिएको भन्दै नेपाल र गण्डकी प्रदेश जोश र जाँगरयुक्त युवाले भरिपूर्ण भएको बताएका छन् ।
उनले हाम्रासामु कोभिडको मुख्य समस्यासँग जुध्नका लागि प्रदेश सरकारले पूर्ण शक्तिमा काम गरिरहेको उल्लेख गर्दै प्रदेशका नागरिकलाई कोरोनाबाट जोगाउने मुल मन्त्र प्रदेश सरकारले बोकेको छ भनेका छन् ।
महामारीको यो युद्धमा सचेतना फैलाउन र संक्रमण नियन्त्रणका लागि सरकारले युवा जगतबाट महत्वपूर्ण साथको अपेक्षा गरेको उल्लेख जारी सन्देशमा गरेका छन् ।




















