बुटवल । लुम्बिनी प्रदेशमा आज गठबन्धनको नयाँ सरकार गठन हुँदैछ ।
शंकर पोखरेलले बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै लुम्बिनी प्रदेशमा बिहीबार नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई बमोजिम बहुमत पुर्याएर नयाँ सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुख अमिक शेरचनले आज दिउँसो ३ः०० बजेसम्मको समय सिमा दिएका छन् ।
लुम्बिनीमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धन नयाँ सरकारका लागि दाबी पेश गर्न जाने नेपाली कांग्रेसले जनाएको छ ।
गठबन्धनले पहिलो आधा समयकालागी मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गरेको छ ।
प्रदेश प्रमुखले आजै मुख्यमन्त्री नियुक्त गर्ने र आजै शपथ समेत गराउने तयारी गरेको छ । गठबन्धनले आजै सानो आकारको मन्त्रिमण्डल समेत गठन गर्ने तयारी गरेको छ ।
प्रदेशसभामा हाल ८० सांसद बहाल रहेकोमा बहुमतका लागि ४१ सिट आवश्यक हुन्छ । चार दलीय गठबन्धनसँग कांग्रेसका १९, माओवादीका १८, जसपाका ३ र जनमोर्चाका १ गरी ४१ सांसद छन् ।
गठबन्धनमा रहेको कांग्रेस र माओवादी केन्द्र बीच बाँकी अवधी आधा–आधा सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।




















