काठमाण्डौ । लुम्बिनी प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गर्दै आज सर्बोच्च अदालतमा रिट दर्ता भएको छ ।
नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य एवं मुख्यमन्त्री शंकर पोखरेल निकाट प्रदेश सांसद लीला गिरीले लुम्बिनी प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गर्दै रिट दर्ता गरेका हुन् ।
संविधानको धारा १६८ (१) अनुसार नियुक्त मुख्यमन्त्रीविरुद्ध २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने भएपनि विपक्षीले गठबन्धनले संविधानसंग बाझिने गरी प्रस्ताव ल्याएको जिकिर गर्दै अदालतमा रिट दायर गरिएको हो ।
यसअघि अधिवक्ता प्रवेश केसीले अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा पेश गरेको रिट सर्वोच्चका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरले दरपीठ गरिदिएका थिए ।
रिट दिन अधिवक्ता केसीको हकदैया नहुने भन्दै रिट दरपीठ भएको थियो ।
साउन १८ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।
अविश्वासको प्रस्तावमाथि छलफल गर्न साउन २७ गतेका लागि प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरिएको छ ।




















