काठमाण्डौं । विश्वभरी कोरोनाका संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४२ लाख २ हजार १६५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै पनि विश्वभरका विभिन्न देशमाका ९ हजार ८९९ जनाले ज्यान गुमाएका छन् ।
पहिले सबै भन्दा बढी प्रभावित भएको अमेरिकामा अहिले पुनः संक्रमण बढ्न थालेको छ । अधिकांश नागरिकलाई खोप लगाए पनि अमेरिकामा संक्रमणको दर केही दिन यता उच्च देखिन थालेको छ ।
अमेरिकामा पछिल्लो २४ घण्टामा ८४ हजार ४०६ जनानमा संक्रमण देखिएको अमेरिकी अधिकारीहरुले जनाएका छन् । अमेरिकामा ६ लाख २८ हजार ९८ जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।
पहिलो लहरको कोरोना महामारीका बेला अमेरिकापछि प्रभावित भएको ब्राजिलमा ५ लाख ५३ हजार २७२ जनाले हालसम्म ज्यान गुमाएका छन् । ब्राजिलमा पछिल्लो २४ घण्टामा ४८ हजार बढी मानिस संक्रमित देखिएको र १ हजार ३६६ जनाको मृत्यु भएको त्यहाँको सरकारले पुष्टी गरेको छ ।
भारतमा भने संक्रमण घट्दो दरमा देखिएको छ । दैनिक ४ लाखसम्म संक्रमण देखिएको भारतमा केही दिनदेखि ५० हजारको संख्या भन्दा माथि बढेको छैन ।
तथापि त्यहाँ तेस्रो लहरको खतरा उच्च भएको विज्ञहरूले चेतावनी दिएका छन् । भारतमा बिहीबार बिहानसम्म ४ लाख २२ हजार ६९५ संक्रमितले ज्यान गुमाई सकेका छन् ।
यस्तै गरी म्याक्सिकोमा २ लाख ३९ हजार ७९ जना, पेरुमा १ लाख ९६ हजार १३८ जना, रूसमा १ लाख ५६ हजार १७८ जना, बेलायतमा १ लाख २९ हजार ४३० जना, फ्रान्समा १ लाख ११ हजार ७३५ जना र इटालीमा १ लाख २८ हजार १० जनाको ज्यान गई सकेको विश्व स्वास्थ्य संगठनले पुष्टी गरेको छ ।
विश्वभर कोरोना संक्रमण जित्नेको संख्या १७ करोड ८० लाख ७७ हजारभन्दा बढी रहेको तथ्यांक सार्वजनिक भएको छ ।




















