काठमाण्डौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अबको केही दिन झरी पर्ने जनाएको छ ।
महाशाखाले एक सूचना जारी गर्दै कहिले काही घाम देखिने भएता पनि साउने झरीको रूपमा देशै भरी हल्कादेखि मध्यम वर्षा हुने जनाएको हो ।
महाशाखाले जारी गरेको सूचनामा देशका पूर्व र पश्चिम भेगमा औसत झरीको अवस्था रहनेछ तथा कर्णाली र सुदूरपश्चिम भेगका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
अहिले मनसुनी वायु पूर्वी भेगबाट नेपाल भित्रने तरखरमा रहेकाले पूर्वी र मध्य भेगमा वर्षाको क्रम पश्चिमको तुलनामा बढी हुने अनुमान गरिएको छ ।
अबको ४ दिनको वर्षा सुदूरपश्चिम र कर्णाली केन्द्रित हुने भएकाले महाकाली र कर्णाली नदीसहित यसका सहायक नदीमा बाढीको बहाव बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै पश्चिम केन्द्रित भए पनि प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका विभिन्न स्थानमा पनि ३÷४ दिन झरी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बुधबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले प्रदेश १, प्रदेश नं २, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका १÷२ स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि जनाएको छ ।




















