काठमाण्डौं । नेपाली कांग्रेसको क्रियाशिल सदस्यता छानबिन समितिले प्रतिवेदन आज पार्टीलाई बुझाएको छ ।
जिल्लाहरुमा देखिएका विवाद समाधान गर्न नसकेपछि सदस्यता छानबिन समितिले मंगलबार अपूर्ण प्रतिवेदन नै काँग्रेस सभापति शेरबहादुर देउवालाई बुझाएको हो ।
केन्द्रीय सदस्यता छानबिन समितिले “देहायबमोजिमका क्षेत्रमा नयाँ क्रियाशील सदस्यता विषयमा समिति निक्कै छलफल र परामर्शपछि पनि निर्णयमा पुग्न नसकेको हुँदा आवश्यक निर्णयका लागि नेताहरुको तहमा प्रस्तुत गरिएको छ ।” प्रतिवेदनमा भनिएको छ ।
संयोजक रमेश लेखकले बुझाएको प्रतिवेदनमा “धनुषाको क्षेत्र नम्बर ४ र सर्लाहीे क्षेत्र नम्बर २ को नयाँ क्रियाशील टुंग्याउन नसक्दा पुराना मात्रको सिफारिस गरेका छौँ । सप्तरी र बारा जिल्लाको नयाँ सदस्यबारे नेताहरुबाटै आवश्यक निर्णयका लागि अनुरोध गरेका छौँ ” भनिएको छ ।
मोरङमा तत्कालीन राप्रपाबाट आएका, रसुवामा तत्कालीन नयाँ शक्तिबाट आएका, डोल्पामा तत्कालीन राप्रपाबाट कर्ण बुढासँगै आएकासहितका थुप्रै जिल्लामा अरु पार्टीबाट आएकाहरुको समायोजनको काममा सहमति जुट्न नसकेको र केन्द्रीय नेताहरुबाटै टुंग्याउन भन्दै प्रतिवेदन बुझाइएको छ ।
सर्लाहीमा जंगीलाल राय, शम्भुलाल श्रेष्ठ र कृष्णदेव यादव तथा तत्कालीन राजपा र समाजवादीबाट आएका नेताहरुसँगै आएका, बागलुङमा विभिन्न पार्टीबाट कांग्रेस प्रवेश गरेका, सिन्धुपाल्चोकमा नेता विष्णुविक्रम थापासँगै आएका, कैलालीमा नेकपा (एमाले)बाट नेता मोहनसिंह राठौरसँगै आएका तथा काठमाण्डौं, कपिलवस्तु, सुनसरी, काभ्रेपलाञ्चोक, सुर्खेत, बाजुरालगाएतका जिल्लामा पनि अरु पार्टीबाट आएकाहरुको समायोजनको काम नगरी प्रतिवेदन बुझाइएको छ ।




















