काठमाण्डौ । जनता समाजवादी पार्टी ‘जसपा’ को उपेन्द्र यादव समूहले निर्वाचन आयोगबाट आधिकारीता पाए संगै सरकारमा जाने तयारी थालेको छ ।
सरकारमा सहभागीताको बिषयमा जसपाको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा अहिले बैठक चलिरहेको छ ।
आजको बैठकले संसदीय दलको विधान पारित गर्ने कार्यसूचि समेत जसापले राखेको बुझीएको छ । बैठकमा सरकारमा सहभागिता लगायतका विषयमा पनि कुराकानी हुने एक नेताले बताए ।
निर्वाचन आयोगले सोमबार मात्रै यादव पक्षलाई पार्टीको आधिकारिता प्रदान गरेको थियो । यादव पक्षमा बहुमत सदस्य देखिएकाले सो समूहलाई दलको मान्यता दिइएको हो ।
५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिका ३४ जनाले उपेन्द्रको पक्षमा रहेको आयोगलाई जानकारी गराएका थिए ।
निवर्तमान प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटनको विषयलाई लिएर जसपा दुई भागमा विभाजित भएको थियो ।
प्रधानमन्त्रीमा शेरबहादुर देउवाले विश्वासको मत लिने क्रममा भने जसपा नेपालका दुवै समूहले उनको पक्षमा मतदान गरेका थिए ।




















