काठमाण्डौं । कोरोना महामारीका कारणले रोकिएको कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सुरु हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
बोर्डले परीक्षा बिद्यार्थीहरुको भौतिक उपस्थितिमै गराउन तयारी सुरु गरेको छ ।
कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रले भौतिक दुरी कायम गर्दै जेड आकारमा बिद्यार्थीहरुलाई राखेर स्वास्थ्य मापदण्ड पालना गराएर परीक्षा सञ्चालन अनुमति दिएपछि कक्षा १२ को परीक्षा गर्न लागिएको हो ।
अब भने मन्त्रिपरिषदले निर्णय गरेपछि परीक्षा भौतिक उपस्थितिमै सञ्चालन हुने बोर्डले जनाएको छ ।
विद्यार्थीले परीक्षा सम्बन्धित विद्यालयबाटै अर्थात होम सेन्टरबाटै दिन पाउनेछन् । परीक्षा भदौ ९ गतेसम्म हुने भएको छ ।
बोर्डले परीक्षा सञ्चालन गर्न सुरक्षा प्रोटोकलसहितको कार्यविधि तयार गरिरहेको छ । कक्षा १२ को परीक्षामा यस पटक ३ लाख ८६ हजार विद्यार्थीको सहभागिता रहने बोर्डले जनाएको छ ।
परीक्षा तालिका र मिति बोर्डको वेबसाइटमा राखेको जनाएको छ ।




















