काठमाण्डौँ – ललिता निवास जग्गाको भ्रष्टाचार प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई १० लाख रुपैयाँ धरौटी राखेर तारेखमा छाडन बिशेष अदालतले आदेश गरेको छ ।
उनका कानुन व्यवसायीका ललित बस्नेतकाअनुसार अदालतले तोके बमोजिमको धरौटी रकम बुधबार नै बुझाएर गच्छादार छुट्दै छन् ।
बुधबार विशेष अदालतले गच्छदारलाई थुनामा नराखी धरौटीमा छोड्न आदेश दिएको हो । यसअघि त्यसै प्रकरणमा जोडिएका नेपाल सरकार तत्कालीन सचिव दीप बस्न्यातलाई भने अदालतले थुनामा पठाएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध उक्त जग्गा प्रकरणमा ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा चलाएको थियो ।
तात्कालिन अवस्थामा उप प्रधान एवं भौतिक योजना तथा निर्माण मन्त्री हुँदा गच्छदारले सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लगी भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको आयोगले अभियोग लगाएको थियो ।




















