कन्टिर–बाबू स्कुलमा पढ्दा एक जना गुरूदेव (ती अब यस लोकमा छैनन्ले) भनेको कुरा सम्झिन्छन् । भ्रष्टाचार र अनियमितताको कुरा उठ्दा ती गुरूदेवको भनाइ हुन्थ्यो– नेपालीहरू बहुत करप्ट छन् । नेपालीको रगतमै करप्सन छ ।
भनिन्छ, हरेक मान्छे बिकाउ हुन्छ । को कतिमा बिक्छ र मोल लगाउने को हुन्छ ? त्यो अलग कुरा हो । ती गुरूदेवका अनुसार नेपालमा प्रायः तिनीहरूमात्रै इमानदार छन्, जसले भ्रष्टाचारको मौका पाएका छैनन् ।
२०३८ सालतिरको यो कुरो कन्टिर–बाबूले ४० वर्षयता पटक–पटक सम्झेका छन् । विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा कन्टिर–बाबूलाई अबचाहिँ ती गुरूदेवको भनाइ पूर्णतः सत्य लाग्न थालेको छ । साँच्चै, नेपालमा भ्रष्टाचार गर्ने मौका नपाएकाहरू मात्र इमानदार छन् ।
अरे यार, जेमा पनि भ्रष्टाचार छ ! के–केको मात्र चर्चा गर्नु ? कसैले कुनै मौका पायो कि ड्याङडुङ पारामा झ्यामझुम पारिहाल्छन् । शौचालयदेखि देवालयसम्म भ्रष्टाचारीको लर्को छ ।
अब हेर्नुस, बाबा पशुपतिकै कुरो । अरूबेला दान–धर्मको खुब ख्याल हुने तर भ्रष्टाचार गर्ने बेलामा न नीति याद आउने, न ईश्वरको डर हुने ! गायक पशुपति शर्माले भने जस्तो– लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरू देशमा पाइँदैन नेपालमै हो छुट ।
आफूले दिनरात पूजा गर्ने भगवानकै नाममा भ्रष्टाचार गर्नसक्ने काबिलहरू नेपालभन्दा अन्यत्र कमै पाइएलान् । मानौँ तिनले भगवानको पूजा पनि ‘खुब भ्रष्टाचार गर्ने अवसर पाउँ प्रभु,’ भन्ने भाकल राखेर गर्ने गर्छन् । तर तिनलाई के थाहा– बम बम भोले, सबका मन तौले !
कन्टिर–बाबू छक्क परेका छन् । पशुपतिमा चढाइएको जलहरीलाई पनि भ्रष्टाचारविज्ञ, काबिलहरूले बाँकी राखेनन् । पशुपतिमा सुनको पवित्र जलहरी राख्ने भन्दै अर्कै धातु मिसाएर बिटुलो बनाइएको कुरा यतिखेर चर्चामा छ ।
कन्टिर–बाबू चश्मा खोलेर शून्यमा नियाल्दै सोचिरहेका छन– नेपालमा अब केही बाँकी नरहने भो । कण–कणमा भगवान् भने जस्तो कण–कणमा भ्रष्टाचार पो भेटिन थाल्यो । भगवानसँग पनि डर नमान्नेहरू कोसँग डराउलान् र खै ? कृपया पशुपतिनाथले त्यस्ता बदमासहरूको चाहिँ कल्याण नगरुन् !




















