गोरखा । गोरखा जिल्लाका ११ स्थानीय तहहरु मध्ये बारपाक सुलिकोट गाउँपालिका सर्वोत्कृष्ट गाउँपालिका बन्न सफल भएको छ ।
स्थानीय तहको उपलब्धी र कमिकमजोरीको लेखाजोखा गर्न संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बनाएको स्थानीय तह स्वमूल्याङकन कार्यबिधिको मापदण्डका आधारमा गरिएको संस्थागत क्षमताको स्वमूल्याङकनमा बारपाक सुलिकोट गाउँपालिका जिल्लाकै सर्वोत्कृष्ट गाउँपालिका बन्न सफल भएको हो ।
कार्यबिधिमा समावेश गरिएका १० वटा सूचक र १०० वटा उपसूचकका आधारमा बारपाक सुलिकोट गाउँपालिकाले ६६.७५ प्रतिसत अंक प्राप्त गरेको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै कार्यबिधीको मापदण्ड अनुसार संस्थागत क्षमताको स्व मूल्याङकनमा जिल्लाको भिमसेन थापा गाउँपालिका ११ औं स्थानमा परेको छ । भीमसेन थापा गाउँपालिकाले ३३.५ प्रतिसत अंक प्राप्त गरेको छ ।
जिल्लाको अजिरकोट गाउँपालिका दोस्रो गाउँपालिका बनेको छ । अजिरकोट गाउँपालिकाले ६५.५ प्रतिसत अङ्क प्राप्त गर्न सफल भएको छ ।
त्यस्तै सहिद लखन गाउँपालिकाले ६०.२५ अङ्क ल्याएर तृतिय भएको छ भने सिरानचोक गाउँपालिकाले ६०.२५ अङ्क ल्याएर चौथो भएको छ ।
क्रमश धार्चे गाउँपालिकाले ४६.५ अंक, गोरखा नगरपालिकाले ४२.२५ अंक, पालुङटार नगरपालिकाले ४१.७५ अंक, गण्डकी गाउँपालिकाले ४५ अंक ल्याएको छ । उत्तरी गोरखाको चुमनुव्री गाँउपालिकाले ३३.५ अक प्राप्त गरेको मन्त्रालयले सार्वजनिक गरेको बिबरणमा उल्लेख छ ।
कार्यबिधि अनुसार गाउँपालिका र नगरपालिकाका सवल र दुर्बल पक्षहरुको पहिचान र समिक्षा गर्ने गरिन्छ । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी स्वयंले सहभागितामूलक विधिद्वारा आ–आफ्नो स्थानीय तहको कार्यबारे मूल्यांकन गर्ने गर्दछन् ।
नगरपालिका र गाउँपालिकाहरुको बीचमा तुलना योग्य सूचकहरु बनाएर त्यस आधारमा कामको मूल्यांकन गर्न कार्यविधिले सघाउने गर्दछ । सुशासनमा रहेका कमीकमजोरी जानकारी लिन, समीक्षाका लागि आधार प्राप्त गर्न कार्यबिधिबाट सजिलो हुने गर्दछ ।
शासकीय प्रबन्ध, वार्षिक बजेट तथा योजना व्यवस्थापन, सामाजिक समावेशीकरण, वित्तीय एवं आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, संगठन तथा प्रशासन, सहकार्य र समन्वयको आधारमा स्थानीयतहरुले नम्बर पाउने गर्दछन् ।
आरुघाट गाउँपालिकाले भने भर्खरै मात्र संस्थागत क्षमताको स्वमूल्याङकन प्रक्रिया सुरु गरेको जनाएको छ ।




















