गोरखा – उत्तरी गोरखामा चामल अभाव भए संगै हेली मार्फत चामल ढुवानी सुरु गरिएको छ । गृह मन्त्रालयको सहयोगमा नेपाली सेनाको हेली मार्फत ८५ क्विन्टल सहुलियतको चामल सिर्दीबास लगिएको हो ।
जेठ अन्तिम सातादेखी आएको पानी र बाढी पहिरोका कारण उत्तरी गोरखामा सडक र पैदल मार्ग समेतमा क्षति पुगे पछि बुधबार हेली मार्फत चालम सिर्दीबास लगिएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले बताए । ‘खच्चड समेत हिड्ने बाटो छैन’ उनले भने ‘कुनै बिकल्प नभए पछि हारगुहार गर्दा गृहले सेनाको हेली दियो र त्यसैमा चालम सिर्दीबास लग्यौ ।’
यारु बगरकाे अवस्था । जहाँ बगरबाटै हिड्ने गरिन्थ्याे
जिल्लामा भएको अति बृटीका कारण उत्तरी गोरखामा बाढी र पहिरोले गोरोटो समेत छैन । कतै बाढीले बगाएको छ भने कती ठुला ठुला पहिरो आएको कारण हिड्न सक्ने अवस्था नै छैन ।
बुधबार सिर्दीबासमा लगिएको चामल सदरमुकाममा रहेको खाद्य तथा ब्यापार कम्पनी लिमिटेडले अनुदानमा उपलब्ध गराए हो । ढुवानी गरिएको कम्पनीको सिर्दीबासमा रहेको खाद्य डिपोमा राखिएको छ ।
आज पनि गृह मन्त्रालयले हेली उपलब्ध गराएको खण्डमा थप चालम उत्तरी गोरखा लाने तयारी गरिएको पालिका अध्यक्ष गुरुङले बताए । डिपोमा १५० क्विन्टल पुरयाउने लक्ष्य पालिकाले लिएको छ ।
कम्पनी आफैले यो आर्थिक बर्षमा ३ हजार ५०० क्विन्टल चामल ढुवानी गनुपर्नेमा २ हजार क्विन्टल मात्र ढुवानी गर्न सफल भएको छ ।





















