गोरखा – गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिकाले पर्यटकलाई लोभ्याउने गरी ‘एक वडा, एक पर्यटकिय गन्तव्य’ कार्यक्रम ल्याएको छ ।
गाउँपालिकाको आगामी आर्थिक बर्ष २०७८÷०७९ मा पालिका भित्रका पर्यटन क्षेत्रको बिकासका लागि ‘एक वडा एक पर्यटकिय गन्तव्य’ कार्यक्रम सुरु गर्न लागेको पालिकाका अध्यक्ष ईश्वर पाण्डेले बताए ।
गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पालिकाको पर्यटन क्षेत्रका बिकास निम्ति कार्यक्रम राखिएको र सो का लागि बजेट समेत बिनियोजन गरिएको कार्यालयले जनाएको छ ।
पालिकाले दिएको जानकारी अनुसार सत्यरुपा समृति उद्यान महादेवटार–जर्नेली पौवा भीमसेन थापाको धारा–हिटी चौतारा–चण्डीथान–कमलपोखरी हुदै कोटकाली सम्मको भीमसेन थापा पदमार्ग निर्माण कार्यलाई तिव्रता दिइने छ ।
त्यस्तै पालिका भित्र भीमसेन थापा स्मृति पार्क तथा संग्राहलयको निर्माण कार्यलाइ पनि निरन्तरता दिने पालिकाले जनाएको छ ।
पालिकाले एक वडा एक पार्क निर्माणको अबधारण समेत अघि सारेको छ । त्यस्तै पालिका भित्र सल्लाघारी पार्क, दुल्लभ पार्क, सिद्धकाली मन्दिर, काशीघाट पशुपति मन्दिर, दारेगौडा, कमलपोखरी, देवीस्थान, ठूलोपोखरी र ईत्लापोखरी क्षेत्रलाई आन्तरिक पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्ने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले पालिका भित्रका बिभिन्न क्षेत्रमा पर्यटकीय सूचना बोर्ड समेत स्थापन गर्ने नीति लिएको छ ।




















