गोरखा – उत्तरी गोरखाको धार्चे गाउँपालिकामा कार्यरत ४ जना कर्मचारी र १ जना वडा सदस्यलाई कोरोना संक्रमण पुष्टी भएको छ ।
पालिकामा कार्यरत कर्मचारीहरु बिरामी भए पछि आइतबार लिईएको स्वाब परिक्षणका क्रममा ४ जना कर्मचारी र १ जना वडा सदस्यमा संक्रमण देखिएको पालिकाले पुष्टी गरेको हो ।
पालिका स्वास्थ्य संयोजक अमृतबहादुर घलेका अनुसार कार्यालय संञ्चालनमा समस्या आए पछि धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाको आरुघाट क्षेत्रबाट कार्यालय सञ्चालन गर्दै गर्दा केही कर्मचारीहरुमा जरो आउने र टाउको दुख्ने समस्या देखिए पछि उनीहरुको असार २० गते पीसीआर गरिएको थियो ।
कार्यालयमा कार्यरत लेखा शाखाका १ जना, ईन्जिनियर १ जना, योजना अधिकृत र कम्प्यूटर अपरेट र वडा सदस्यलाई कोरोना देखिएको हो ।
संक्रमण देखिएका सबै कर्मचारीहरुलाई छुट्टै स्थानमा राखेर कार्यालयको काम भई रहेको पालिका अध्यक्ष सन्तबहादुर गुरुङले जानकारी दिए । ‘असारको चटारो छ । कर्मचारीहरु सबैलाई सुरक्षित राखेर कोठा भित्रै सबै कुराको ब्यवस्था मिलाएर कार्यालयको काम भई रहेको’ अध्यक्ष गुरुङ बताए ।




















