काठमाण्डौ – जनता समाजवादी पार्टीको महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच सहमति नभए संगै निर्वाचन आयोगले इजलास गठन गर्ने तयारी गरेको छ ।
दुवै पक्ष बिच आज आयोगमा भएको छलफलमा अलग अगल भएर जाने निर्णय संगै आयोगले एउटा पक्षलाई आधिकारिकता दिनकालागि इजलास गठन गर्ने तयारी गरेको हो ।
उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार पार्टीको आधिकारिकता विवाद टुंग्याउन निवेदन दिएपछि आयोगले मंगलवार दुबै पक्षलाई बोलाएको थियो । आयोगमा भएको छलफलका क्रममा दुबै पक्षले आफ्नो दावी नछाडेपछि छलफल निष्कर्षबिहीन भएको थियो ।
छलफलपछि महन्थ पक्षका नेता अनिल झाले र उपेन्द्र यादव पक्षका नेता महेन्द्र राय यादवले एकताको सम्भावना तत्काल नरहेको आयोगलाइ निर्णय गर्न जानकारी गराएको थियो ।
जसपाको विवाद नमिलेपछि आयोगले वैधानिकताबारे निणर्य गर्न इजलास गठन गर्ने जनाएको छ ।
छलफलमा दुवै पक्ष सहमत नभएकोले अब राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को ६ अनुसारको प्रक्रिया सुरू हुने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।
निर्वाचन आयोगमा उपेन्द्र पक्षबाट उपेन्द्र यादव, महेन्द्र राय, राजेन्द्र श्रेष्ठ, प्रकाश अधिकारी र मृगेन्द्र सिंह उपस्थित थिए भने महन्थ पक्षबाट महन्थ ठाकुर, राजेन्द्र महतो, शरद सिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, केशव झा र सुरेन्द्र झा उपस्थित भएका थिए ।




















