काठमाण्डौं – नेकपा (माओवादी केन्द्र) का बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी हस्तक्षेप आमन्त्रण गरेको आरोप लगाएका छन् ।
सोमबारको राष्ट्रियसभा बैठकमा बोल्दै श्रेष्ठले प्रधानमन्त्रीकै कारण अन्तरिक मामिलामा विदेशी हस्तक्षेप बढेको बताएका हुन् ।
विदेशीको योजना र मिलिभगतमा प्रधानमन्त्रीले संविधान र लोकतन्त्रमाथि आक्रमण गरिरहेको भन्दै उनले भने, ‘उहाँले राष्ट्रिय स्वाधीनतामा गम्भीर धोकाधडी गर्नुभयो ।’
‘प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वाधीनतामाथि गम्भीर धोकाधडी गर्नुभयो,’ श्रेष्ठले भने, ‘उहाँ राष्ट्रिय लम्पासारवादमा जानुभयो । अहिले कालापानीको कुरा उठ्दैन, ईपीजीको कुरा उठ्दैन । विदेशी हस्तक्षेप स्वीकार गरिरहनुभएको छ ।’
प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार प्रधानमन्त्रीलाई नभएको भन्दै श्रेष्ठले राष्ट्रियताको रक्षा गर्न पनि संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्ने जिकिर गरे ।




















