काठमाण्डौं – नेपाली सेनाले नेपाल प्रहरीलाई आफ्नो अत्याधुनिक हतियारहरु उपलब्ध गराएको छ ।
सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधान सेनापति पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई ३०० नाल हतियार तथा सोको एम्युनिशन र सम्बद्ध सामाग्रीहरु हस्तान्तरण गरेको हो ।
प्राप्त हतियार नेपाल प्रहरीको तालिम, विशिष्ट र अति विशिष्ट व्यक्तिको सुरक्षा, कार्यालय सुरक्षामा उपयोग गरिने नेपाल प्रहरीले जनाएको छ ।
नेपाली सेनाको हतियार नेपाल प्रहरीलाई उपलब्ध गराउन मन्त्रिपरिषद्को गत जेष्ठ १७ गते बसेको बैठकले १० हजार ८१८ नाल अत्याधुनिक हतियार र सोको एम्युनिशन १४ लाख ९४ हजार १६ वटा उपलव्ध गराउने निर्णय गरेको थियो ।




















