गोरखा – गोरखाको आरुघाट स्थित मंगलटारमा बेहुला–बेहुली लिएर फर्कदै बस दुर्घटनामा परेको छ । बस दुर्घटना हुदा ५ जना घाइते भएका छन् ।
आरुघाट गाउँपालिका ८ को मंगलटारमा शुक्रबार राती खत्रिस्वाँराबाट बेहुला–बेहुली लिएर धादिङको सल्यानटार तर्फ जाँदै गरेको ना ६ ख ९७९८ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको हो । दुर्घटनामा परी बेहुली सहित ५ जना घाइते भएको छन् ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी प्रकाश दाहालका अनुसार बस दुर्घटना हुदा बेहुली २२ बर्षकी राधिका सुनार, धादिङ सल्यानटार घर भएका ८७ बर्षका बलबहादुर घिमिरे, ७१ बर्षका दिलबहादुर घिमिरे, ४० बर्षकी बिष्णुमाया सुनार, ११ बर्षकी करिस्मा बि.सी. घाइते भएका छन् ।
बस सडकमा एक्कासी पल्टिएको प्रहरीले जनाएको छ । घाइते मध्ये बेहुली सुनारको टाउको चोट लागेको डिएपी छ । अन्य घाइतेहरुको भने हात खुट्टामा चोट लागेको छ । घाइते सवैको स्थानीय आरुघाट प्राथामिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
घटना लगत्तै बसका चालक फरार भएको र निजको खोजी कार्य भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।




















