गोरखा – केही दिनको अबिरल बर्षाका कारण गोरखाको आँपपिपल क्षेत्र नराम्ररी प्रभावित भएको छ ।
बुधबार देखी परेको पानीका कारण अहिले पालुङटार नगरपालिका २ को आँपपिपल क्षेत्रको ४३ घर परिवार बिस्थापीत भएको छ भने १४ घर पहिरोको उच्च जोखिममा रहेको वडा अध्यक्ष लोकनाथ वाग्लेले बताए । ‘पानीका कारण आँपपिपल बजार वरपर रहेका सबै गाउँ प्रभावित भएको’ भन्दै ‘४३ घरमा पूर्ण क्षेति भएर बिस्थापीत भएका र १४ घर पहिरोको उच्च जोखिममा रहेको’ उनले भने ।
वडा अध्यक्ष वाग्लेका अनुसार बिजुली डाडाँमा ७ घर, चापा भञ्ज्याङ–ओलढुङ्गा क्षेत्रमा ७ घर, सुन्तले क्षेत्रम १२ घर, करेली थुम्काको ४ घर, रातडाडाँ–आँपटारी क्षेत्रको १० घर र सिम्पानीको ३ घर पूर्ण रुपमा ध्वस्त भएको र ति घरका मानिसहरु विस्थापीत भएको छ ।
त्यस्तै गरी आँपपिपल बजार क्षेत्रका ५ घर र शिवलिङ डाडाँको ९ घर पहिरोको उच्च जोखिममा रहेको वडा अध्यक्ष वाग्लेले जानकारी दिए ।
बुधबार राती देखी आएको पानीले बिहीबार राती सम्म राउतेपानी सडक कामै नलाग्ने गरी पहिरो गएकोले यातायात अबरुद्व भएको छ भने वडा भित्रका सबै सडकमा पहिरो गएको छ ।
यता आँपपिपल क्षेत्रकै सानो बन र ठुलो बन क्षेत्रमा निर्माण गरिएको ४ स्थानको कुलोमा ठुलो पहिरो गएको र सो पहिरोले धुन्धुरे क्षेत्रमा रहेको १ हजार रोपनी भन्दा बढी खेती योग्य जमिन बगरमा परिणत भएको छ ।
युवा ब्यवसायी दुर्गालाल श्रेष्ठले दिए १ लाख ५ हजार ५५५ रुपैयाँ
वडामा बिपतमा परेकाहरुलाई सहयोग पुरयाउने उद्वेश्यका साथ अहिले बिपत कोषको स्थापनाको तयारी गरिएको वडा अध्यक्ष लोकनाथ वाग्लेले जानकारी दिए ।
कोष स्थापनाकोलागि आँपपिपल स्थायी घर भई हाल राजधानीमा ब्यवसाय गर्दै आएका युवा ब्यवसायी दुर्गालाल श्रेष्ठले १ लाख ५ हजार ५५५ रुपैयाँ सयोग गरेका छन् ।
कोषमा जम्मा भएको पैसाले अति जोखिममा परेका घर परिवारलाई सहयोग गर्ने उद्वेश्य राखिएको वडा अध्यक्ष वाग्लेले बताए । ‘सबैको सहयोग भएमा छुट्टै बिपत कोष स्थापना गरी अति जोखिममा परेको घर परिवार र संकटासन्न परिवारहरुलाई सहयोग गर्ने उद्वेश्य राखिएको’ उनले बताए ।























