मेलम्ची – बाढीग्रस्त मेलम्ची क्षेत्रमा आधुनिक साइरन जडान गरिएको छ । मेलम्ची नगरपालिकासँगको सहकार्यमा रामलक्ष्मण इनोभेसन प्रालिले ‘अर्ली वार्निङ सिस्टम’ अर्थात ‘पूर्व चेतावनी प्रणाली’ जडान गरेको हो ।
खोलामा पानीको सतह बढ्दा स्वतः साइरन स्वत बज्ने गरी सिस्टम जडान गरिएको नगरपालिकाले जनाएको छ । हेलम्बु, सेरा, तालामाराङ, मेलम्ची, बाहुने पाटी, मानेखर्क, पाँचपोखरी र टिपेनीबाट साइरन बजाउन सकिने गरी त्यहाँका प्रहरी अधिकारीको मोबाइल नम्बरमा पहुँच दिइएको नगरपालिको जनाएको छ ।
माथिल्लो तटीय क्षेत्रमा रहेका प्रहरी अधिकारीहरूले बाढी आएको थाहा पाउँदा १० अंकको मोबाइल नम्बर थिच्नासाथै साइरन बज्नुका साथै तल्लो तटीय क्षेत्रमा रहेका निश्चित व्यक्तिको मोबाइल नम्बरमा त्यस सम्बन्धी म्यासेज समेत आउने गरी ब्यवस्था मिलाईएको छ ।
हाल तल्लो तटीय क्षेत्रमा मेलम्ची र बाहुने पाटीमा गरी दुई वटा साइरन जडान गरिएको छ । जसले मेलम्चीका ३५० घर र बाहुने पाटी ४०० घरपरिवारलाई समेट्ने कम्पनीका अर्का सहसंस्थापक लक्ष्मण रिमालले बताए ।
साइरनका लागि सोलार, ब्याट्री, इन्भर्टर, माइक र डिस्प्ले सहितको सम्पूर्ण प्याकेजको लागत भ्याट बाहेक २ लाख २० हजार रुपैयाँ रहेको छ । उत्त सिस्टम मेलम्ची र बाहुने पाटीमा साइरन राखेसँगै हेलम्बु, चनौटे क्षेत्रका स्थानीयले आफ्नै खर्चमा साइरन जडान गरिदिन आग्रह समेत प्राविधिकहरुलाई आग्रह गरेका छन् ।
बाढीका लागि मात्र होइन, पहिरो जानु अघि समेत त्यसलाई डिटेक्सन गरेर चेतावनी दिने साइरन प्रणाली समेत रामलक्ष्मण इनोभेसनले बनाइसकेको छ । हाल यो सिस्टम गोरखाको केरौंजा र खानी गाउँमा प्रयोग भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालयको सहयोगमा मेलम्ची, इन्द्रावती, भोटेकोशी सबै गरेर सिन्धुपाल्चोकका २७ वटा स्थानमा साइरन जडान गर्नुपर्ने सुझाव राम लक्ष्मण इनोभेसनले दिएको छ ।




















