काठमाण्डौं – अमेरिकाले नेपाललाई तत्कालै कोरोनाविरुद्धको खोप उपलब्ध गराउन नसक्ने जानकारी दिएको छ । उत्पादक ३ वटा कम्पनीले तत्काल खोप आपूर्ति गर्न नसकिने जवाफ नेपाललाई दिएको हो ।
वासिङ्टनस्थित नेपाली नियोगले विज्ञप्ति जारी गर्दै जोन्सन एन्ड जोन्सन, मोर्डना र नोभाभ्याक्सले तत्काल खोप आपूर्ति गर्न नसकिने जवाफ दिएको नेपाल सरकारलाई जानकारी समेत गराएको छ । नेपालले जोन्सन एन्ड जोन्सनबाट ५० लाख मात्रा, मोर्डनाबाट २० लाख मात्रा खोप खरिदका लागि ती खोप कम्पनीलाई आग्रह गरेको थियो ।
्विश्वव्यापी आपूर्ति श्रृंखलाको कारण आफूहरुले उक्त समयभित्र खोप आपूर्ति गर्न नसक्ने जवाफ दिएको जोन्सन एन्ठ जोन्सनले जनाएको छ । यसैगरी मोर्डनाले पनि आफू तत्काल व्यवसायिक हिसाबले खोप विदेश निर्यात गर्ने अवस्थामा नरहेको जानकारी दिएको छ ।
विश्व्यापी खोप आपूर्ति प्रभावित भएकाले अर्को वर्षसम्म खोप निर्यात गर्न नसकिने मोर्डनाले जनाएको छ । अमेरिकाकै बाल्टिमोरस्थित खोप उत्पादक कम्पनी नोभाभ्याक्सले पनि तत्कालका लागि व्यवसायिकरुपमा खोप निर्यातका लागि आफूहरु तयार नरहेको जनाएको छ ।
कम्पनीहरुको जवाफ नकारात्मक भएपनि अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभ्याक्स संयन्त्रमार्फत नेपालसहितका अन्य मुलुकलाई खोप प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन् ।
जुन महीनाभित्र अमेरिकाले प्रदान गर्ने २५ मिलियन डोज खोपमध्ये नेपालसहितको एसिया प्रशान्तक्षेत्रीय मुलुकले ७ मिलियन प्राप्त गर्नेछन् ।




















