गोरखा – मनसुन सुरुवात संगै अविरल बर्षा तथा झरीको कारणले आउने बाढी, पहिरो तथा डुवानबाट जनधनको क्षति हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय गोरखाले सबै जिल्ला बासीमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रशासनले मंगलबार एक सूचना जारी गर्दै जल तथा मौषम विज्ञान विभागबाट असार १६ गतेदेखि १९ गतेसम्म जिल्लाका बुढिगण्डकी, मस्र्याङ्दी, दरौदी नदी तथा त्यसका सहायक नदीहरुमा पानीको बहाब उल्लेख्य बढ्ने र सकर्तता तह पार गर्ने संभावना रहेको भन्दै सबै जिल्ला बासीहरुलाई सतर्कता अपनाउन आग्रह गरेको हो ।
कार्यालयले जारी गरेको सूचनामा ‘मनसुन बर्षाको कारण नारायणी नदी, यसका सहायक नदीहरु त्रिशुली, बुढिगण्डकी, मस्र्याङ्दी नदीहरुमा पानीको बहाब उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह पार गर्ने संभावना रहेको भनि सूचना जारी भएकोले सो अवधिभर गोरखा जिल्ला भउर बग्ने मस्र्याङदी, दरौँदी, बुडीगण्डकी लगायतका नदीनाला आसपासका स्थलहरुमा नजान’ भनिएको छ । साथै ‘सो क्षेत्रमा बसोबास गर्ने घर परिवारहरु उचच सतर्कताको अवस्थामा रहन, जोखिम आंकलन गरी सुरक्षित स्थानमा स्थानान्तरण हुन तथा स्थानिय पालिका र सुरक्षा निकायको निरन्तर सम्पर्कमा रहन’ सूचनामा भनिएको छ ।
जिल्लामा यस अघि पनि जेठको अन्तिम साता देखी असार पहिलो साता सम्म आएको पानीका कारण बाढी र पहिरोले धेरै स्थानमा क्षति पुरयाई सकेको छ । दरौँदी, मस्र्याङदी र बुढीगण्डकी नदी तथा त्यसका सहायक नदीहरुले बस्ती तथा खेती योग्य जमिन र गोरेटो तथा कच्ची सडकलाई ठुलो क्षति पुरयाएको थियो ।
क्षति पुरयाएको धेरै जसो बस्ती स्थानान्तरण गरिएको छ भने गोरेटो र कच्ची सडक अहिले सम्म पनि सञ्चालनमा ल्याउन सकिएको छैन । उत्तरी गोरखामा बिद्युत र मोबाईल सेवा अबरुद्व छ । बिद्युत र ईन्टनेट सेवा नभएकै कारण जिल्लाको धार्चे गाउँपालिकाले धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा अस्थायी कार्यालय स्थापना गरी कार्य सञ्चालन गर्दै आएको छ ।





















