आज जनताको भाषामा दही–च्युरा खाने दिन । सरकारी भाषामा राष्ट्रिय धान दिवस । असार १५ कुनै न कुनै रूपमा धान रोपाइँ कर्म संस्कृति बनेर देशैभरि प्रचलनमा छ ।
मधेसतिर धानको गभ (बिरूवा) गाड्ने प्रचलन छ र दही–च्युरा, आँप खाजा खाने ख्वाउने गरिन्छ । पहाडतिर असार १५ लाई दिवसकै रूपमा मनाउने गरिन्छ । पहाड, तराई–मधेस जहाँ पनि यो दही–च्युरा दिवसको सम्बन्ध साङ्केतिक रूपमा रोपाइँ प्रारम्भ भएको कुरासँग सम्बन्धित छ ।
असार १५ का दिन धान रोपाइँ दिवस मनाउने कुरो त ठीकै हो तर कन्टिर–बाबूले यो दिनसँग सम्बन्धित एउटा कुरो भने बुझिरहेका छैनन् । उनको प्रश्न छ– आखिर यो दही–च्युराको सम्बन्ध पहाडमा प्रचलित रोपाइँसँग कसरी भयो ? मूलतः दही–च्युरा तराई–मधेसको भोजन मान्ने गरिएको परिप्रेक्ष्यमा भोजनको यो परिकार पहाड कसरी उक्लियो ? अथवा पहाडतिरै यसको प्रदूर्भाव भएको हो भने मधेस झरेर त्यहीँको खाद्य–संस्कृतिमा प्रधान स्थान कसरी बनायो ? दही–चुडा आम, पण्डितजी सलाम भन्ने एउटा सानोतिनो उखानै पनि प्रचलित छ मधेसतिर ।
खयर यो बुद्धिविलासको कुरा भयो । अन्डा पहिले कि चल्ला ? भनेजस्तो जे पहिला भए पनि नेपालको राष्ट्रिय कृषि तथा खाद्य संस्कृतिसँग दही–च्युरा जोडिएकोमा कन्टिर–बाबू खुसी छन् । उनी दही–च्युरा दिवसलाई देश जोड्ने राष्ट्रिय संस्कृतिका रूपमा स्वीकार्छन् ।
तर अहिलेको अप्ठेरो बेलामा दिवस मनाउने नाममा विभिन्न परिकारहरू सामाजिक सञ्जालमा प्रदर्शन गर्ने कुराको भने विपक्षमा छन् कन्टिर–बाबू । खासगरी अहिले कोरोनाकालमा धेरै मानिस बेरोजगार भएको बेला छ । निषेधाज्ञाले भुइँतहका मानिसलाई बिहान–बेलुका हातमुख जोर्न धौधो पारेको अप्ठेरो अवस्था छ ।
अरे यार, एकातिर केही मानिस खान नपाएर भोकभोकै मर्ने अवस्थामा छन् अनि अर्कोतिर केही हुनेखानेले परेड लगाएर स्वादिला भोजन–परिकार प्रदर्शन गर्नु कत्तिको जायज हुन्छ ? अभावमा जीवन बाँचिरहेकाहरूमा यसबाट पर्ने मनोवैज्ञानिक प्रभाव कस्तो होला ? कन्टिर–बाबू यसतर्फ सोच्न सम्बद्ध सबैसँग आग्रह गर्छन् ।
अर्को कुरो, रोपाइँबारे थाहा नहुनेहरू पनि हुलेहुलेमा रोपाइँ दिवस मनाउन ताम्सेको देख्दा कन्टिर–बाबू छक्क पर्छन् । अझ पछिल्ला दिनमा रोपाइँ दिवस गमला, मोबाइल र टिकटक दिवसमा परिवर्तित हुँदै जानु कन्टिर–बाबूका लागि दिक्कलाग्दो प्रकरण भएको छ ।
त्यसो त नेपाली लाठे–बाउसे र रोपाहारहरू विदेशिएसँगै बाँझो पल्टेका अनि प्लटिङ र अव्यवस्थित सहरीकरणका कारण मासिँदै गएका धानखेत सम्झेर कन्टिर–बाबू असार १५ मा मात्र होइन, वर्षका तीन सय ६५ दिन नै खिन्न हुन्छन् ।
यसबाहेक कृषिप्रधान भनिएको देशमा न हलो, न कोदालो, न कुटो, न फाली, न रोपो न बेठी, केही थाहा नहुने युवाको सङ्ख्या बढ्दो देखेर कन्टिर–बाबू थप जिल पर्छन् ।
तर अवस्था जे भए पनि बचेखुचेको असार १५ का अवसरमा कन्टिर–बाबू सबै कृषकहरूमा शुभकामना व्यक्त गर्छन् । रङ्गी–चङ्गी लुगा लाएर हिलेखेतको डिलमा उभिँदै सेल्फी खिच्ने अनि सामाजिक सञ्जालमा फोटो पोस्ट्याएर रोपाइँ तथा धान दिवस मनाउनेहरूमा पनि शुभकामना छ ।
कन्टिर–बाबू भन्छन्– सबैले दही–च्युरा खाऊँ तर दहीचिउरेचाहिँ कोही नबनौँ ।




















