कन्टिर–बाबूलाई यो भन्न रत्तिभर पनि सङ्कोच छैन कि उनी नेपाली काङ्ग्रेसका संस्थापक नेता, देशका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीबाबूका ‘डाइहार्ट’ फ्यान हुन् । बिपीले नेपाली काङ्ग्रेसका माध्यमबाट देशमा जनताको शासन स्थापना गर्ने र बहुलवादमा आधारित समाजवादलाई वास्तविक अर्थमा रूपान्तरण गर्ने सपना देखेका थिए ।
कन्टिर–बाबू भन्छन्– तर उनका उत्तराधिकारीहरूले बिपीलाई कि त चिनेनन् कि त उनलाई अनुशरण गरेनन् । फलतः देश त लिकमा आएन नै काङ्ग्रेस पार्टी पनि आफ्नो मौलिक स्वरूपमा छैन यतिबेला ।
बिपीबाबू भन्थे– गलत क्रियाकलापको विरोध गर्नु सही कार्यकर्ताको पहिचान हो । नत्र कसरी चापलुस–चाकडीबाज र सहीको पहिचान गर्ने ? यस्तो पृष्ठभूमिमा कन्टिर–बाबू सोचिरहेछन्– यदि बिपीले भनेको सिद्धान्त आजको काङ्ग्रेसमा परीक्षण गर्ने हो भने पार्टी र शुभेच्छुक संस्थामा सही कार्यकर्ता कति बाँकी होलान् ? बिपीले भनेजस्तो सही कार्यकर्ता हुन एउटा आँट चाहिन्छ । तर पार्टीमा त्यस्ता आँटिला युवाहरू कति होलान् ?
त्यसो त कन्टिर–बाबूलाई लाग्छ– देखेका कुरा भन्न कुनै आँट गरिरहनै पर्दैन । पछिल्ला दिनमा काङ्ग्रेसका नेताहरू पूरापूरा सत्ताको वरिपरि त्यसरी नै घुमिरहेका देखिन्छन्, जसरी रानी माहुरीको वरिपरि ज्यामी माहुरीहरू भुँ–भुँ गर्दै घुम्छन् ।
यसै सन्दर्भमा कन्टिर–बाबू बिपीबाबूको थप एक भनाइ सम्झना हुन्छ । बिपीले भनेका छन्– मेरा अडानहरूका बारेमा व्यापक भ्रम सिर्जना हुने सम्भावना देखेको छु । नेपाली काङ्ग्र्रेसको इतिहास आदर्श र लक्ष्यहरूका साथ भएको सङ्घर्षको इतिहास हो । मलाई लाग्छ यस मुलुकको उज्ज्वल भविष्यका लागि नेपाली काङ्ग्रेसमा ती कुराहरूको निरन्तरता रहनुपर्छ । जुन दिन नेपाली काङ्ग्रेसले राष्ट्रियताको आफ्नो अडान छोड्नेछ, यो निरर्थक भएर जानेछ । जुन दिन यसले प्रजातन्त्रको आदर्श छोडेर केवल सत्ताको राजनीति गर्नेछ, यो निरर्थक भएर जानेछ ।
कन्टिर–बाबूको प्रश्न छ– के माथिको भनाइबारे अहिले १४औँ महाधिवेशनको सँघारमा रहेका आम काङ्ग्रेसजनहरू जानकार छन् ? के आजको दिनमा काङ्ग्रेसीहरूले बिपीको विचारलाई व्यवहारमा अनुशरण गर्न सकेका छन् ? के १४औँ महाधिवेशनमा बिपीका विचारहरूमा बहस होला ? कि खाली पद र कुर्सीको छिनाझपटी होला ?
सिद्धान्ततः सत्ता साधन हुनुपर्ने हो । तर किन हो किन काङ्ग्रेसका लागि सत्ता नै साध्य बनेको छ हिजोआज । बिपीको पार्टीले सत्ताका लागि जेपिटी गरेको कन्टिर–बाबूलाई फुट्टी आँखा मन परेको छैन ।




















