कन्टिर–बाबूका एक जना अभिन्न मित्र छन्, नाम हो– गुलेली मास्टर । शब्दको मट्याङ्ग्र्रा राखेर आलेखको गुलेली चलाउँदै सम्बद्ध मानिसहरूलाई खुत्रुक्कै बनाउन माहिर छन् यिनी । शब्दका मट्याङ्ग्र्रा हान्न खप्पिस भएका आधारमा यिनको न्वारान ठिकै गरिएको हो भन्ने ठम्याइ कन्टिर–बाबूको छ ।
यी गुलेली मास्टर सामाजिक सञ्जालमा कुराका गोला ओकलिरहन्छन् । यिनका यस्तै कुरा कन्टिर–बाबूले ट्विटरमा भेटेका छन् । यिनी लेख्छन्– सङ्घीय लोकतान्त्रिक गणतन्त्रको फल कहिले लाग्ने हो अनि जनताले फल कहिले चाख्ने पाउने हुन् ? १५ वर्ष त हुन लाग्यो के हो ?
कन्टिर–बाबू यस भनाइसँग पूर्णतः सहमत छन् । उनका अनुसार सङ्घीयताको अर्थ नेता–कार्यकर्ता पोस्ने–पाल्ने मात्रै हो भने अब सोच्ने बेला भइसकेको छ । कन्टिर–बाबू गुलेली–बाबूतर्फ नै शब्दका मट्याङ्ग्र्रा फर्काउँदै भन्छन् खानेले खाएकै छन्, स्वाद चाखेकै छन् । सबैले किन स्वाद लिन पाउनुपरयो ? कि कसो गुलेली–बाबू ?
जगजाहेरै छ, कन्टिर–बाबू सङ्घीयताको अब्बल दर्जाका पक्षपाती हुन् । उनी सङ्घीयताको विरोध गर्नुभन्दा यसलाई सुधार्नुपर्ने तर्क गर्छन् । भुरे–टाँकुरे स्वघोषितहरूको कार्य असफलतालाई गणतन्त्र र सङ्घीयताको असफलता मान्ने पक्षमा छैनन् कन्टिर–बाबू ।
गुलेली–बाबूलाई कन्टिर–बाबू व्यक्तिगत रूपमा चिन्छन् । सङ्घीयताप्रति यिनको प्रतिबद्धताबारे कन्टिर–बाबूलाई शङ्का छैन । तर नेपालका केही मानिस सङ्घीयता मन पराउँदैनन् र यसको विरोधमा अनेक तर्क गर्छन् । यसलाई अलोकप्रिय बनाउन न्वारनदेखिको बल लगाउँछन् । यस्तो कार्य गर्नुका पछाडि कन्टिर–बाबू वैचारिक आधारलाई कारण मान्छन् ।
शक्ति र अधिकारको विकेन्द्रीकरण नचाहनेहरू सङ्घीयताको फल अरूले चाख्न नपाउन भन्ने ध्याउन्नमा रहेको कन्टिर–बाबूलाई थाहा छ । यस अर्थमा गुलेली–बाबूको चिन्ता बडो जायज लाग्छ । थाहा छैन भुइँ तहका जनताका लागि ‘सङ्घीयताको फल आँखा तरी मर’ कहिलेसम्म भइरहने हो ?
कन्टिर–बाबू सोध्छन्– यस्तोमा सार्वभौम भनिएका भुइँ तहका जनताले के गर्ने ? सङ्घीयताको फल अरूलाई टिप्न नदिनेविरूद्ध लड्नुको विकल्प के छ ?
koshionline




















