बिराटनगर – सुनसरीमा आज हायसले म्याजिक भ्यान र मोटरसाइकललाई ठक्कर दिदा ३ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गस्थित सुनसरीको कोशी गाउँपालिका ८ मा हायसले विपरीत दिशाबाट आइरहेको मोटरसाइकल र म्याजिक भ्यानलाई ठक्कर दिँदा म्याजिक भ्यानका चालक र मोटरसाइकलमा सवार ३ जनाको मृत्यु भएको हो । घटनामा परी थप २ जना घाइते भएका छन् ।
दुर्घटनामा परी मोटरसाइकल चालक सप्तरी डाक्नेश्वरी ५ का २८ बर्षीय उदय साह, सोही मोटरसाइकलमा पछाडि सवार बिराटनगर ९ का राम प्रसाद शाह र म्याजिक चालक विराटनगरका अक्षय कुमार गुप्ता रहेको मृत्यु भएको बिराटनगर प्रहरीले जानकारी दिएको छ । मृत्तक सबैको उपचारको क्रममा इनरुवा अस्पतालमा मृत्यु भएको हो ।
पूर्वबाट पश्चिमतर्फ गइरहेको बा ३ ख ७२४४ नम्बरको हाइसले ओभरटेक गर्नेक्रममा पश्चिमबाट पूर्वतर्फ आइरहेको स १ छ ४६६१ नम्बरको मोटरसाइकल र बा ३ ख ९३६८ नम्बरको म्याजिकलाई ठक्कर दिएको थियो । हायसले शुरुमा मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल उछिट्टीएर सडकबाट तल झरेको थियो ।
त्यसपछि हायसले पुनः पश्चिमबाट पूर्वतर्फ आइरहेको म्याजिकलाई पनि ठक्कर दिएको प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा संलग्न हायस र सोका चालक चालक नुवाकोट विदुर नगरपालिकाका ३५ बर्षीय विकास तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




















