एजेन्सी – अमेरिकाका अश्वयत नागरिक जर्ज फ्लोइडको घाँटी थिचेर हत्या गरेको अभियोग लागेका पूर्व प्रहरीलाई अदालतले २२ वर्ष ६ महिना जेल सजाय तोकिएको छ ।
मेई २०२० मा अमेरिकाको मिन्नियापोलिसमा डेरेक चाउभिनले ४८ वर्षका फ्लोइडलाई नियन्त्रणमा लिने बहानामा घाँटी थिचेका थिए । ९ मिनेटसम्म चाउभिनले फ्लोइडको घाँटीमा घुँडाले टेक्दा उनको मृत्यु भएको थियो ।
न्यायाधिसहरुले चाउभिनले पदको दुरुपयोग गरेको तथा फ्लोइडमाथि क्रुरता देखाएका कारण यस्तो सजाय तोकिएको बताएका छन् । फ्लोइडको मृत्युसँगै विश्वभर रंगभेद र प्रहरी दमनविरुद्ध आन्दोलन चर्किएको थियो । त्यसयता, गत वर्ष ४५ वर्षीय चाउभिनविरुद्ध सेकेन्ड डिग्री मर्डर र अन्य अभियोगहरु लगाइएको थियो ।
फ्लोइडको परिवार र उनका समर्थकहरुले अदालतको फैसलाको स्वागत गरेका छन् । फ्लोइडकी बहिनी बिग्रेट्ट फ्लोइडले भनिन्,‘ प्रहरी दमनका घटनालाई पनि अन्तत गम्भिर रुपमा लिइन्छ भनेर यो सजायले देखाएको छ ।’
सुनुवाईका क्रममा फ्लोइडका भाई टेरेन्स फ्लोइडले अधिकतम उपलब्ध सजाय अर्थात् ४० वर्षको सजाय दिन माग गरेका थिए । फ्लोइडकी ७ वर्षिया छोरी जियन्नाको भिडियो रेकर्डिङ पनि अदालतमा पेश गरिएको थियो । जियन्नाले आफ्ना बाबुलाई निकै मिस गरिरहेको बताइन् ।




















