कन्टिर–बाबू यतिखेर मधेसमा प्रचलित एक भनाइ सम्झिरहेका छन्– चार दिन की चटक चाँदनी फिर अँधेरी रात । नेपालीमा यसको भावार्थ हुन्छ– चार दिनको जुनेली उज्यालो अनि फेरि उही अँध्यारो रात । यस लोकोक्तिको लाक्षणिक अर्थचाहिँ झिलिमिली र खुुसीको आयु लामो नहुन सक्छ भन्ने हो ।
यसपटक जनता समाजवादी पार्टीका ‘राम’ पक्षीय नेताका लागि उल्लिखित लोकोक्तिकै हाल भएको छ । केही दिनअघि राम पक्षका ११ जना दिग्गजहरू ओल्बा मन्त्रिपरिषदमा बडो तामझाम र विजयीभावका साथ सहभागी भएका थिए । तर ले घाँस ! विचराहरूले न मन्त्री हुनुको कुनै आनन्द लिन पाए, न लगाएको माला ओइलाउन पायो । स्वागत र बधाई पनि राम्ररी थाप्न पाएका थिएनन्, खुसियाली मनाउन दीपावली गरिएको १९ दिन पनि कट्न पाएन । फ्याट्ट अदालतले ‘जागीर’को जुइँना खुस्काइदिइहाल्यो ।
कसैले मानोस् कि नमानोस् मधेसमा यतिखेर जसपाका दुई पक्ष जबरजस्ती ढङ्गले एक–अर्काका प्रतिस्पर्धी (विरोधी) बनेका छन् । कन्टिर–बाबूका अनुसार एक पक्ष खुसी हुँदा अर्को पक्ष दुखी हुन्छ । अवस्था कहाँसम्म छ भने यिनले आफ्नो खुसीभन्दा पनि अर्काको पतनप्रति बढी चासो छ । एक–अर्कोलाई खुच्चिङ भन्दै दीपावली गर्छन् । मन्त्री हुँदा एक पक्षले दीपावली गरेर हर्षोल्लास अभिव्यक्ति गर्यो भने मन्त्री खुस्किँदा अर्को पक्षले सार्वजनिक ठाउँमा दीपावली गरेको कन्टिर–बाबूले सुने । यो त ठ्याक्कै हिन्दीको त्यो गीतजस्तै भयो– कहीँ दीप जले कहीँ दिल … !
यो दीपावली प्रकरणले मधेसको समाज क्रमशः परपीडक बन्दै छ भन्ने सङ्केत गरेको छ । एउटाले दुःख मानिरहेको बेला अर्को खुसी हुनु निकै गम्भीर कुरो हो । तत्कालका लागि यो सामान्य देखिएला तर दीर्घकालीन सोचका आधारमा यस प्रवृत्तिलाई उचित मान्न नहुने कन्टिर–बाबूको तर्क छ ।
उता, सर्वसत्तावादविरुद्ध सडकमा सङ्गठित हुन प्रतिपक्षले आग्रह गर्दागर्दै आज नगद भोलि उधारो भन्दै जानीजानी कामचलाउन मन्त्रिपरिषदमा जानेहरूका पक्षमा भुलचुक लिनेदिने राम्रै भयो । न सडक विश्वासमा रह्यो, न सरकार हातमा रह्यो ।
कन्टिर–बाबूका अनुसार यो कुनै खिसी गर्ने कुरा होइन, यो त अहिले लेखिराख्नुपर्ने तर मधेसले बिर्सनलायक नजिर पो हो ।




















