गोरखा – आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर दाहाललाई पनि कोरोना संक्रमण पुष्टी भएको छ । अध्यक्ष दाहालको एन्टिजेन र पीसीआर परिक्षण दुवैका पोजेटिभ देखिए पछि होम आइसोलेसनमा बसेका छन् ।
जिल्ला विपत ब्यवस्थापन समितिको गएको असार ४ गते जिल्ला सदरमुकाममा रहेको प्रशासन कार्यालयमा भएको बैठकमा सहभागी भएर फर्किएका दाहाललाई स्वास्थ्यमा समस्या देखिए पछि ८ गते एन्टिजेन परिक्षण गर्दा पोजेटिभ देखिएको दाहालले बताए ।
९ गते पीसीआर गरेका दाहालको १० गते बिहीबार संक्रमण देखिए संगै होम आइसोलेसनमा रहदै आएका छन् । दाहालको परिवारमा श्रीमती र १ छोरालाई पनि संक्रमण देखिएको छ ।
यता सोही बैठकमा बसेर फर्किएका पालुङटार नगरपालिकाका मेयर ई.दिपकबावु कडेललाई पनि ९ गते राजधानीमा पीसीआर गर्दा संक्रमण देखिएको थियो ।
सोही बैठममा सहभागी अन्य गाउँपालिका केही प्रतिनिधीहरुलाई पनि अहिले स्वास्थ्यमा समस्या आउन थालेको जानकारी प्राप्त भएको छ ।
समितिका जिल्ला अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारीलाई यसै बिषयमा जानकारी लिन खोज्दा आफुले पनि त्यस्तै जानकारी पाएको र स्वास्थ्यकर्मीहरु संग सल्लाह लिई रहेको बताए । ‘बैठकमा सहभागी पालुङटार र आरुघाटका अध्यक्ष ज्यूलाई संक्रमण भएको जानकारी पाएको छु । मैले यसै बिषयमा स्वास्थ्यकर्मी संग सल्लाह लिदा डबल मास्क लगाएको भए केही नहुने जानकारी पाएको छु’ भन्दै ‘त्यसै कारण पनि आज हुने बैठकमा वहाँहरु संग फोनमा सल्लाह लिएर निर्णय गर्ने सहमती भएको’ प्रजिअ शालिग्राम शर्मा पौडेलले बताए ।
प्रशासनमा आज जिल्लाको निषेधाज्ञा थप्ने र के के खुल्ला गर्ने भन्ने बिषयमा बैठक हुदै छ ।




















