काठमाण्डौ । वरिष्ठ अधिवक्ता शम्भु थापाले जनताको प्रतिनिधिलाई सरकार बनाउन कसैले रोक्न नमिल्ने बताएका छन् ।
प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा बुधबार संवैधानिक इजलासमा भएको सुनुवाइमा बोल्दै थापाले विश्वासको मतको आधार फ्लोर टेष्ट भएको तर्क पेश गरे । उनले राष्ट्रपतिले १४९ सांसदको हस्ताक्षरलाई अस्वीकार गरेर सांसदहरुको अधिकार हनन् गरेको जिकिर गरे ।
बहस गर्दै थापाले प्रश्न गरे–हाम्रो मतदानको अधिकार तपाईंले कसरी खोस्न पाउनुहुन्छ ? कसरी खाइदिन पाउनुहुन्छ राष्ट्रपतिज्यू ?
‘विश्वासको मतको आधार फ्लोर टेष्ट हो । १४९ सांसदको दावी पेश गरेपछि तपाईं को हो ? हु आर यु ?’ थापाले राष्ट्रपतितर्फ इंगित गर्दै प्रश्न गरे,’के त्यहाँ कोही एमाले र कोही माओवादीका सांसदले भोट हाल्न नसक्ने छन र ? जनताको प्रतिनिधिलाई तपाईंले सरकार बनाउन बाट रोक्न मिल्छ ?’
उनले राष्ट्रपति भण्डारीले एमालेभित्र यस्तो हुन्छ, जसपाभित्र यस्तो हुन्छ भनेर दलको प्रकाशन गर्न कहाँ पाउनुहुन्छ ? भनेर पनि प्रश्न गरे।
उनले प्रधानमन्त्री र राष्ट्रपतिले भनेजस्तै यो राजनीतिक प्रश्न नभएको बताए । थापाले भने,’म विश्वासको मत पाउन सक्दिनँ, भनेर राजीनामा नदिनु चाहिँ राजनितिक प्रश्न हो । विश्वासको मत नपाएपछि संविधान बमोजिम पदमुक्त हुनुपर्दैन ? केपी ओली जी जसरी विश्वासको मतबाट बाहिर जानुभो, उहाँलाई अब ७६ को उपधारा ५ अनुसार दाबी गर्ने अधिकार छैन ।’ थापा अघि आज देउवा पक्षका अरू ४ जना वकिलले बहस गरेका थिए ।




















