नेपाली राजनीतिको विश्लेषण गर्दै गएको खण्डमा कन्टिर–बाबू पाउँछन्– नेपालमा नेताका सन्ततिहरूले मात्रै पुर्खाको ब्याज खाने चलन संस्थागत गरिएको छ ।
नेपाली राजनीतिका वर्तमान पात्रहरू हेरेका खण्डमा कन्टिर–बाबूलाई लागेको कुरो सहजै प्रमाणित हुनेछ । विगतका नाम चलेका नेताका नैतिकवान सन्तति धेरै कम छन्, जसले पुर्खाको ब्याज र ब्याजको स्याज खाएका छैनन् । यदि कसैका सन्ततिले खान सकेका छैनन् भने त्यसलाई एउटा संयोगमात्र मान्नुपर्ने हुन्छ ।
त्यस्तै बिडम्बनापूर्ण संयोग जोडिएका एक नेता हुन्– स्वर्गीय रामनारायण मिश्र ९१९७९ जेठ २३ – २०२४ पुस ६०। नेपाली काङ्ग्रेसका तत्कालीन नेता मिश्र बिपी नेतृत्वको पहिलो जननिर्वाचित सरकारका उद्योग–मन्त्री थिए ।
कन्टिर–बाबूलाई पनि नेपालको राजनीतिक इतिहासका एक जिज्ञासु विद्यार्थी हुन् । यस आधारमा उनी भन्न सक्छन्– नेपालमा औद्योगिकीकरणको प्रारम्भ उनैको पालादेखि भएको हो ।
नेपालमा ठूला उद्योग कलकारखाना स्थापना प्रारम्भको जस रामनारायण–बाबूलाई जान्छ । जनकपुर चुरोट कारखानाको स्थापना पनि उनकै पालामा भएको हो, जहाँ उनको शालिक पनि स्थापना गरिएको छ ।
कुनै बेला तराई–मधेसमा आर्थिक क्रान्ति गरी यहाँका जनताको जीवनस्तरमा सुधार ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको जनकपुर चुरोट कारखानाले राज्यलाई सर्वाधिक राजश्व बुझाउँथ्यो । तर पछि जो–जो सत्तामा आए सबैले दुहुनो गाई बनाएर हसुर्नुसम्म हसुरे । जचुकालिको टाट पल्टिाए ।
अहिले जचुकालि बन्द छ । यहाँ प्रदेश २ को सरकारको सचिवालय बनाइएको छ । विचरा रामनारायण–बाबू जहाँ होलान् यस कारखानाको हालत देखेर अवश्य पनि विषादग्रस्त होलान् ।
कन्टिर–बाबू विस्मित छन्– समय अन्तरमा काङ्ग्रेसले किन रामनारायण मिश्रलाई महत्व दिन छोड्यो ? यसमा थप विस्मयको कुरा के छ भने रामनारायण–बाबू हाल स्थानीयको पनि विस्मृतिमा छन् ।
कुरो कहाँसम्म पुग्यो भने जचुकालि परिसरमा स्थापित रामनारायण–बाबूको शालिक सफा गर्ने फुर्सदसमेत सरोकारवालालाई हुन छोड्यो । उनको जन्मजयन्ती र स्मृति दिवसमा सम्झिनसमेत कन्जुस्याइँ गरिन्छ ।
त्यसो त प्रदेश प्रमुख राजेश अहिराजजीलाई धन्यवाद दिनुपर्छ कि उनको ध्यान कसोकसो गरी शालिकमाथि पर्यो र हालै यसको झाडबहार गरियो ।
वाह रे राजनीति ! नेताहरूको योगदानलाई भजाएर सत्तामा पुग्ने र शासन गर्ने तर नेतालाई नसम्झिने ! यो त उही खोलो तर्यो लौरो बिर्सियोवाला भाँज भइहाल्यो नि !
अरे कन्टिर–बाबूलाई त आश्चर्य अर्को कुराको पनि लाग्छ कि रामनारायण–बाबूको समकालीन नेताका सन्ततिहरू आज पार्टीमा स्थापित छन् तर यिनको परिवारलाई भने पछि पारिएको छ ।
कन्टिर–बाबूको प्रश्न छ– जचुकालि परिसर अनि महोत्तरी जलेश्वरमा शालिक राख्ने र एउटा हुलाक टिकटमा सीमित गर्नेबाहेक प्रजातान्त्रिक आन्दोलनका योद्धा रामनारायण मिश्रको योगदान देखाउने के काम गरिएको छ ? राज्यले मात्र होइन, उनकै मित्रका सन्ततिहरूले पनि कति सम्झिएका छन् ?
कन्टिर–बाबूको निष्कर्ष छ– सायद यस्तै व्यक्तित्वहरूलाई बिर्सेका कारण पनि हुनसक्छ तराई–मधेसमा काङ्ग्रेसको प्रभाव खुम्चिएको । बाँकी गफ कन्टिर–बाबूले गर्न चाहेनन् । कन्टिर–बाबू कसौटी सिनेमामा कलाकार प्राणको डायलग सम्झिँदै भन्छन्– हम कुछ नही बोलेगा । हम बोलेगा तो बोलोगे कि बोलता है !





















