गोरखा । जनता समाजबादी पार्टी भीमसेन थापा गाउँपार्टी कमिटीले गाउँपालिकालाई १९ बुँदे ध्यानकर्षण पत्र बुझाएको छ ।
पार्टीले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्ने तयारीमा रहेको गाउँपालिकालाई जनताका समस्याहरुलाई सम्बोधन गर्न दबाब दिने उद्देस्यले ध्यानकर्षण पत्र बुझाएको हो ।
जसपाले बुझाएको ध्यानकर्षण पत्रमा बजेटमा एक टोल एक उप्पादन, एक वडा एक कृषि सहकारी, एक किसान एक कृषि तथा पशुपन्छी फर्मको आधारमा बजेट बिनियोजन गर्न माग गरेको छ ।
त्यस्तै कृषकहरुले पालेका पशुचौपाया बालीनालीको संरक्षण प्रवर्धनका साथै क्षतिपूर्तिको लागि कृषक प्रोत्साहन बिमाको व्यवस्था, एक वडा एक कृषि संकलन, आयात तथा निर्यात केन्द्र स्थापना गर्न समेत जसपाले गाउँपालिकाको ध्यानकर्षण गरेको छ ।
गाउँपालिका अध्यक्ष इश्वर पाण्डेलाई जसपाले बुझाएको ध्यानकर्षण पत्रमा किसानका उत्पादित बस्तुको बजार व्यवस्थापन, स्वच्छ खानेपानीका लागि एकघर एकधाराको कार्यक्रमा सम्पन्न गर्नुपर्ने, गाउँपालिकाका प्रत्येक वडा कार्यालय जोड्ने बाटोको स्तरोन्नती गरि बाह्रै महिना गाडी चल्ने व्यवस्था गर्न पनि भनेको छ ।
त्यस्तै पालिका भित्रका सवै तहका बिधालय तथा समन्व्य क्याम्पसहरुमा बिज्ञान तथा प्रबिधिको आधारमा पठनपाठन र सिकाइको व्यवस्था गर्न, बिधालयका कर्मचारीहरुलाई न्युनतम रकम मन्त्रालयले तोके बमोजिम पारिश्रमिक व्यवस्था गर्न, सामुदायिक सिकाई केन्द्र औपचारिक सिकाईहरु परिमार्जन गरि व्यवसायिक शिक्षा र ज्ञानसिपको तालिम सञ्चालनको व्यवस्था गर्न जसपाले माग गरेको छ ।
जसपाका गाउँपार्टी कमिटीका अध्यक्ष रोहित पाण्डेको नेतृत्वको टोलीले गाउँपालिका अध्यक्ष पाण्डेलाई ध्यानकर्षण पत्र बुझाउनु भएको हो ।






















