पोखरा । एसओएस बालग्राम रामबजार पोखराका आमाहरूले नयाँ बजारमा बसोवास गर्दै आएका दृष्टिविहिन एवम् अपाङ्गता भएका परिवारलाई खाद्य सामग्री सहयोग गरेका छन् ।
बालग्रामका सस्थापक हर्मनमाईनरको जन्मदिन एवम् ३५ औं एसओएस दिवसको अवसरमा आमाहरूले ५ दृष्टिविहिन र ११ जना शारिरिक अपाङ्गता भएका परिवारलाई २५ हजार मुल्य बराबरको राहत सामग्री वितरण गरेका हुन् ।
एसओएस बालग्राममा कार्यरत २४ जना आमाले सामुहिक रुपमा संकलित रकमबाट चामल, दाल, तेल, नून, चिउरा, बेसार, माक्स लगायतका सामग्री खरिद गरि अपाङगता भएका परिवारलाई सहयोग गरिएको लक्ष्मीदेवी वास्तोलाले जानकारी दिइन ।
कोरोना भाइरसको दोश्रो भेरियन्टको संङ्क्रमण रोकथामका लागि गरिएको निषेधाज्ञाको कारण रोजगारी गुमाएर छाक बस्ने अवस्थामा पुगेका १७ परिवारलाई तत्कालका लागि खाद्यान्न सहयोग गरिएको उनको भनाइ छ । बालग्रामका १५ वटा घरमा १५३ जना बालबालिका छन् ।
पोखराको बिभिन्न बजारमा अगरवत्ती बिक्री गरेर तथा दोहोरी साँझमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर परिवारको जीविकोपार्जन गर्दै आएका यस्ता परिवार कोरोनाको कारण आयआर्जन गर्ने बाटो बन्द भएपछि यतिखेर रोग भन्दा भोकसँग लड्दै आएका छन् ।
सेतो लठ्ठीको सहायताले राहत सामग्री लिन आएका दृष्टिविहिन पानुराम चौधरीले निषेधाज्ञाको कारण खानाको त समस्या छदैछ लामो समयसम्म घर भाडा तिर्न नसक्दा थप चिन्तित तुल्याएको दुःखेसो गरे ।
स्नातक तह उत्तिर्ण गरेका ४० बर्षीय चौधरी भन्छन्, “श्रीमती र दुई छोरी सहित चार जनाको परिवार पोखरा बजारमा अगरवत्ती बिक्री गरेर भएको आम्दानीबाट जीविकोपार्जन गर्दै आएका थियौं । अहिले आयआर्जन केही पनि छैन् दाताहरूको सहयोगले जेनतेन चुल्हो तातेको छ ।




















