काठमाण्डौ । कोरोना महामारीको दोस्रो लहर संगै उपत्यकामा जारी निषेधाज्ञा पुनः साता दिनका लागि थपिएको छ ।
उपत्यकाका तीनै जना प्रमुख जिल्ला अधिकारीहरूको आइतबार साँझ बसेको बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
अब उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा हुने भएको छ । अबको निषेधाज्ञा भने खुकुलो बनाइको छ । निजी सवारी साधनलाई जोर–बिजोर प्रणाली अनुसार चल्न दिइने भएको छ भने ट्याक्सीहरूलाई पनि जोर–बिजोर लागू गरेर चलाउन दिइने भएको छ ।
निषेधाज्ञा थपिएसंगै आइतबार, मंगलबार र बिहीबार बिहान ११ः०० बजेदेखि दिउसो ४ः०० बजेसम्म सुनचाँदी, भाँडाकुडा पसल, अटो मोबाइल्स, विद्युतीय, घरायसी सामान बिक्री गर्ने सामग्री खोल्न दिइने निर्णय भएको छ ।
त्यस्तै गरी सोमबार, बुधबार र शुक्रबार बिहान ११ः०० बजेदेखि दिउसो ४ः०० बजेसम्म सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न पाईने भएको छ ।
खाद्यान्न, दूध, तरकारी , किताब पसललगायतका पसलहरू बिहान ११ः०० बजेसम्ममात्र खोल्न पाईने छ ।
यता रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउनेछन् । निर्माण सामग्रीको हकमा त्यस्ता पसलहरू बिहान ११ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म खोल्न पाइने छ ।
शनिबार अत्यावश्यकबाहेक अरू पसलहरू बन्द गर्नु पर्ने छ भने सरकारी कार्यालय आलो–पालो गरी खुला गर्ने निर्णय भएको छ ।




















