गोरखा । उत्तरी गोरखाको सल्लेरीमा बिस्थापीतहरुको लागि हेली मार्फत सामाग्रीहरु लगिएको छ । अबिरल बर्षा पछि सल्लेरीमा बुढी गण्डकीले ५ घर वगाएको थियो भने पुरै गाउँ नै विस्थापीत भएको थियो । विस्थापीतहरुको लागि आज टेन्ट, खाद्य सामाग्री, नगद, सेफ्टी किट र औषधीहरु लगिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।
राहत सामाग्री ढुवानीका लागि माउण्टेन चाइल्ड जावलाखेलले हेली चार्टर गरिदिएको हो । आज ५ फ्लाईट मार्फत सल्लेरीमा सामाग्रीहरु लगिने संस्थाका समन्वय अधिकृत सर्मिला मानन्धरले बताईन । संस्थाले सेफ्टी किट समेत उपलब्ध गराएकाे छ ।
संस्थाले उपलब्ध गराएको सेफ्टी किटमा सर्जिकल मास्क, स्यानिटाईजर, साबुन, टुथपेष्ट, ब्रस, रुमाल, टिस्यूपेपर, बिस्कुट तथा स्यानीटरी प्याड जस्ता सामाग्रीहरु १०० जनाको लागि पुग्ने गरी पठाईएको अधिकृतले मानन्धरले बताईन । यो संस्थाले गोरखाको चुमनुब्रीमा रहेको एक स्थानिय संस्था संग समन्वय गरेर शिक्षा र स्वास्थ्यमा काम गर्दै आएको छ ।
उत्त क्षेत्रमा लानका लागि प्रदेश सरकार मार्फत ३० थान टेन्ट, उद्योग बाणिज्य संघ र लायन्स क्लब अफ गोरखा मार्फत १ हजार ४४० केजी चामल, ६० ली.तोरीको तेल, १०० केजी नुन र १२० केजी दाल प्राप्त भएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।
त्यस्तै गरी सोही क्षेत्रका लागि भनेर नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखाले ९० थान कम्बल उपलब्ध गराएको पनि शाखाका सभापति भगवानबावु मास्केले जानकारी दिए ।
त्यस्तै गरी आजै जिल्ला प्रशासन कार्यालय गोरखा मार्फत बाढीले घर बगाएका ५ घर परिवारलाई प्रतिघर परिवार ३० हजार र बिस्थापित अन्य परिवारहरुलाई १५ हजारका दरले नगद रकम बितरण गर्ने पनि कार्यालयले जानकारी दिएको छ ।
राहत सामाग्री सिम्रीक एयर मार्फत सदरमुकामबाट सल्लेरी लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक शेखर खनालले जानकारी दिए ।




















