सिन्धुपाल्चोक – अबिरल बर्षा संगै मंगलबार राति आएको बाढीमा परी ५० जना भन्दा बढी मानिस बेपत्ता भएको आशंका गरिएको छ । सिन्धुपाल्चोकको मेलम्ची र ईन्द्रावती नदीमा आएको भीषण बाढीले उत्त संख्यामा मानिसहरु बेपत्ता भएको स्थानियहरुले बताए ।
बाढीले ठूलो जनधनको क्षति भएको छ । मेलम्ची खानेपानी ड्याम, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतविक्षत बनाएको छ ।
बाढीले नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल बगाएको छ । माटोको लेदोले मेलम्ची क्षेत्रका पक्की घरका संरचनामा पनि क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त भएका छन् । प्राकृतिक विपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहतमा जुट्न अहिले ठुला दलका नेता तथा सभामुखले आग्रह गरेका छन् । सरकारले आजै बाढी ग्रस्त क्षेत्रमा टेण्ट र खाध्यान्न पुरयाउने तयारी गरिरहेको प्रमुख जिल्ला अधिकारीले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोकको जलबिरेस्थित बलेफी खोला जलमापन केन्द्रमा अक्स्मात जलसतह बढेर खतराको तह पार गरेकाले तटीय क्षेत्रहरूमा अर्को सूचना जारी नभएसम्मका लागि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको र स्थानीय जुटेका छन् ।




















