सर्लाही – सर्लाही जिल्लाको पडरिया गाउँमा सञ्चालित भट्टी पसलमा मदिरा सेवन गरेका ८ जनाको ज्यान गएको छ ।
नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको ब्रह्मपुरी गाउँपालिका ५, पडरिया गाउँमा ४ दिनमा ३ भारतीय नागरिकसहित ८ जनाको ज्यान गएको हो ।
ज्यान गएका सबैको विषाक्त घरेलु मदिरा सेवनबाट ज्यान गएको जिल्ला अस्पताल मलङ्गवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.नवलकिशोर झाले जानकारी दिए ।
मृतकहरूको भिसेरा परीक्षणका लागि फरेन्सिक ल्याब काठमाण्डौंमा पठाउने तयारी भई रहेको छ । घटनाबारे विरामीहरु संग थप सोधखोज गरिरहेको प्रहरी कार्यालयले जनाएको छ ।
ज्यान जानेहरूमा पडरिया गाउँका ५० वर्षीय राम ईश्वर पासवान, ३९ वर्षीय दिनकर दास, ६५ वर्षीय कैलु दास, ५० वर्षीय जुगेश्वर माझी र २४ वर्षीय बलिन्द्र दास रहेका छन् ।
त्यस्तै भारतको उत्तर प्रदेशका ३५ वर्षीय दाताराम निसाद, ५५ वर्षीय शिवसागर निसाद र ३२ वर्षीय सर्वेस राम निसादको पनि ज्यान गएको हो ।
मृतक ३ जना भारतीय नागरिक चन्दन इँटा उद्योग पडरियाका मजदुर हुन् ।




















