जगजाहेर छ, कन्टिर–बाबू अभिव्यक्ति स्वतन्त्रताका कट्टर पक्षपाती हुन् । उनका अनुसार देशको अखण्डता, सुरक्षा र व्यक्तिको मान–सम्मान तथा मर्यादामा खलल नपर्ने गरी जो कोहीलाई पनि आफ्नो विचार अभिव्यक्त गर्ने स्वतन्त्रता छ ।
तर यस्तो स्वतन्त्रता छ भन्दैमा जेपिटी गर्न भने पाइन्न । स्वतन्त्रताका नाममा स्वछन्दता प्रदर्शन सर्वथा वर्जित छ । कन्टिर–बाबूको विचारमा अभिव्यक्ति स्वतन्त्रतालाई विवेक र आत्मानुशासनका आधारमा व्यक्ति स्वयम्ले नियमन गर्नु आवश्यक छ ।
समय–परिस्थितिका कारण मनमा नानाभाँतीका तरङ्ग उठ्न सक्छन्, लहड चल्न सक्छ, आक्रोश जन्मिन सक्छ । यी सबैका बीचमा व्यक्ति स्वयम्ले जायज–नाजायजको सीमा कोर्न सक्नुपर्छ । हो, राज्यले यसमा सहयोगमात्र गर्ने हो, नियमनको सम्पूर्ण अधिकार राज्यलाई दिइनुहुँदैन । नियमनको सम्पूर्ण अधिकार दिइँदा राज्यले आफ्नो अनुकूलताका आधारमा पूर्वाग्रही निर्णय गर्न सक्ने सम्भावना बढ्छ ।
यसै सन्दर्भमा एकछिन नरोत्तमजीको कुरा गरौँ । वाग्मती प्रदेशसभाको सदस्य नरोत्तमजीले सदनमा बोल्दाबोल्दै एक सन्दर्भमा महात्मा गान्धी र नाथुराम गोड्सेको नाम लिए । पाठकहरूलाई थाहा हुनुपर्छ, गोड्सेले गान्धीको गोली हानी हत्या गरेका थिए ।
होला, नरोत्तमजीका मनमा अनेक आक्रोश होलान् । उनले भावनात्मक उत्तेजनाका आधारमा आफ्नो धारणा अभिव्यक्त गरे होलान् । तर परिस्थिति जे भए पनि सार्वजनिक ठाउँमा व्यक्त उनको सो अभिव्यक्तिलाई जायज ठहर्याउन सकिन्न भन्ने कन्टिर–बाबूको स्पष्ट मत छ । कन्टिर–बाबूले नरोत्तमजीलाई हिजै सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा आफ्नो धारणा अवगत गराइसकेका छन् ।
यसअघि नेपालगन्ज अस्पतालमा भएको स्वास्थ्यकर्मीमाथिको कुटपिटको घटनालाई ‘भावनात्मक उत्तेजना’को परिणाम नामक जामा पहिर्याउने कुराको पनि कन्टिर–बाबू विरोधी हुन् । यो त ‘तुम करो तो रासलीला मैं करूँ तो क्यारेक्टर ढिला’ भनेजस्तो कुरा भएन र ? अरे बाबा भन्न सक्नुपर्यो नि, हिजोको घटना पनि गलत थियो र नरोत्तमजीको अभिव्यक्ति पनि गलत छ ।
यता, नरोत्तमजीले सार्वजनिक रूपमा माफी माग्दै प्रदेश ३ संसद्को रेकर्डबाट उक्त भनाइ हटाउन लिखित माग गरिसकेका छन् । व्यक्तिले गल्ती स्वीकार र नदोहोर्याउने प्रतिबद्धता गर्नु राम्रो कुरा हो । रह्यो माफी दिने–नदिने सन्दर्भ– त्यो त समय र जनताले निर्धारण गर्ने कुरा हो ।
यसबाहेक यो प्रकरणलाई जनताले के–कसरी सोचेका छन् भन्ने कुरा सम्बद्ध सरोकारवालाले समयमै बुझ्ने प्रयत्न गर्नुपर्यो भन्ने कन्टिर–बाबूको जोडदार आग्रह छ ।




















